काठमाडौं । इरानका सभामुख मोहम्मद बाघेर घालिबाफले अमेरिका इरानका अधिकारहरू स्वीकार गर्न तयार भए मात्र शान्ति सम्झौता सम्भव हुने बताएका छन् ।
पाकिस्तानको राजधानी इस्लामावादमा वार्ताका लागि पुगेका घालिबाफले शुक्रबार राति सञ्चारमाध्यमसँग कुरा गर्दै इरान राम्रो नियतका साथ वार्तामा सहभागी भएको तर अमेरिकाप्रति विश्वास नरहेको बताएका हुन् ।
६ सातादेखि जारी द्धन्द्ध अन्त्य गर्ने उद्देश्यसहित भइरहेको वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व घालिबाफले गरिरहेका छन् भने अमेरिकीपक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् ।
सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार घालिबाफले विगतका वार्ताहरूमा वाशिङ्टनले आफ्ना प्रतिबद्धताहरू पूरा नगरेको आरोपसमेत लगाएका छन् । उनले सोही अनुभवका कारण इरान अझै सतर्क रहेको संकेत दिएका छन् ।
वार्ताका लागि उपराष्ट्रपति भान्स पनि इस्लामावाद पुगेका छन् ।
