काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आदेशमा अमेरिकी केन्द्रीय कमानले इरानको खार्ग द्वीपमा शक्तिशाली हवाई आक्रमण गरी त्यहाँ रहेका सबै सैन्य आधार नष्ट गरेको दाबी गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै यसलाई मध्यपूर्वको इतिहासमै शक्तिशाली आक्रमणमध्ये एक भएको बताएका हुन् । उनले मानवीय तथा नैतिक कारणले द्वीपमा रहेका तेल संरचनालाई भने निशाना नबनाइएको उल्लेख गरेका छन् ।
अमेरिका, इसरायल र इरानबीच युद्ध सुरु भएपछि मध्यपूर्वका विभिन्न स्थानमा तेल प्रशोधन केन्द्र र तेल भण्डारण ट्याङ्कहरू आक्रमणको लक्ष्य बन्दै आएका छन् । इसरायली सेनाले तेहरानका रेय, शहरान र अकदसियेह क्षेत्रमा रहेका तेल डिपो तथा करज सहरको फरदिस क्षेत्रमा आक्रमण गरेको बताइएको छ । इजरायलका अनुसार ती स्थानमा इरानी सरकारले सैन्य प्रयोजनका लागि इन्धन भण्डारण गर्दै आएको थियो । इरानले पनि जवाफी कारबाहीस्वरूप फारसको खाडी क्षेत्रका केही देशमा रहेका तेल प्रशोधन केन्द्र र भण्डारणस्थलमा आक्रमण गरेको बताइएको छ ।
खार्ग द्वीपमा भएको आक्रमणपछि अमेरिकाले उक्त द्वीप कब्जा गर्न सक्ने अड्कलबाजी समेत बढेको छ । खार्ग द्वीप इरानको सबैभन्दा ठूलो तेल भण्डारण केन्द्र मानिन्छ र इरानको करिब ९० प्रतिशत कच्चा तेल यही सानो द्वीपबाट निर्यात हुने गर्छ ।
यसअघि पनि इजरायलका पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता यायर ल्यापिडले खार्ग द्वीपमा रहेका इरानका ऊर्जा संरचना ध्वस्त पार्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनले यस्तो कदमले इरानको अर्थतन्त्रमा ठूलो असर पर्ने दाबी गरेका थिए । अमेरिकी रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले भने इसरायललाई लक्ष्य चयन गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् । उनका अनुसार इरानको तेल अर्थतन्त्र यस क्षेत्रको शक्ति सन्तुलनसँग प्रत्यक्ष जोडिएको छ ।

करिब २० वर्ग किलोमिटर क्षेत्रफल रहेको खार्ग द्वीप इरानको दक्षिण–पश्चिम भागमा पर्छ र प्रशासनिक रूपमा बुशेहर प्रान्तअन्तर्गत पर्दछ। सानो भए पनि तेल निर्यातका कारण यो द्वीप इरानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । इरानी तेल टर्मिनल्स कम्पनीका अनुसार खार्ग द्वीपमा ४० भन्दा बढी कच्चा तेल भण्डारण ट्याङ्क छन्, जसको कुल क्षमता दुई करोड बैरलभन्दा बढी छ। दक्षिणी तेल क्षेत्रबाट निकालिएको कच्चा तेल समुद्रमुनि बिछ्याइएका पाइपमार्फत यहाँ ल्याइन्छ र यहीँबाट विश्व बजारमा निर्यात गरिन्छ ।

खार्ग द्वीपबाट करिब ७५ किलोमिटर पश्चिममा अबुजर नामको ठूलो समुद्री तेल क्षेत्र रहेको छ, जहाँबाट फारसको खाडी क्षेत्रमा उत्पादन हुने इरानी तेलको ठूलो हिस्सा निकालिन्छ ।

FACEBOOK COMMENTS