काठमाडौं, १२ भदौ । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले मन्त्रीको हैसियतमा सार्वजनिक गरेको सम्पत्ति विवरणलाई लिएर अहिले सञ्चारमाध्यमहरूमा विभिन्न कोणबाट चर्चापरिचर्चा भइरहेका छन् ।
व्यावसायिक पृष्ठभूमीबाट राजनीतिक जीवनमा समेत पहिल्यैदेखि क्रियाशील मन्त्री थापाले सार्वजजिक गरेको सम्पत्तिविवरण हेर्दा अर्ब हाराहारीकै छ, तर उक्त सम्पत्ति कमाउनु र जमाउनु ‘अपराध’झैं गरी प्रचार गरिएकोमा भने उनले दुःख व्यक्त गरेका छन् । ‘राजनीतिमा लागिसकेपछि बजारमा आउने सकारात्मक वा नकारात्मक जस्तोसुकै प्रतिक्रिया र टिप्पणी पचाउन सक्नुपर्छ, ती कुरा पचाउने क्षमता म मा छ तर, सुशासन र पारदर्शीताको पाटोलाई छुँदै नछोई गरिएको एकोहोरो प्रचारले मेरो व्यक्तिगत चरित्रहत्या भएको छ,’ मन्त्री थापाले प्रश्न गर्दै भने, ‘सामान्य भन्दा धेरै सम्पत्ति कमाउनु र जमाउनु अपराध हुने हो र ?’
‘मैले मन्त्रीको हैसियतले आफूसँग भएको सम्पत्ति विवरण नलुकाइकन सार्वजनिक गरेँ, सार्वजनिक पदमा बसेका धेरैले विवरणहरू लुकाउँदै आएको परिवेशमा मैले सम्पूर्ण कुरा छर्लङ्ग बनाउनु सायद आम सञ्चारका माध्यम र आवद्ध सञ्चारकर्मी मित्रहरूलाई अनौठो पो लाग्यो कि !,’ उनले पत्रकारहरूसँग चित्त दुखाउँदै भने, ‘मैले सम्पत्ति कसरी कमाएँ त्यसतर्फ कोही पनि पत्रकारले मसँग जिज्ञासा राख्नुभएन, मसँग जोडिएका अन्य कैयन विषयहरूमा पनि एकतर्फी रूपमै समाचार लेखिँदै आएको छ । व्यक्तिको चरित्रहत्या हुने खालको समाचार प्रवाह गरिँदा मलाई अत्यन्तै चित्त दुःखेको छ । यसबाट पत्रकारहरूमा व्यावसायिक धर्म हुँदैन कि भन्ने भान समेत म मा परिरहेको छ ।’
विद्यमान कानुनको अधीनमा रहेर, सुशासन र पारदर्शीतालाई पछ्याउँदै आफूले दुःख गरेर उक्त सम्पत्ति आर्जन गरेको मन्त्री थापाको दाबी छ । निक्कै दुःख गरेर आफूले सम्पत्ति आर्जन गरेको बताउँदै थापाले भने, ‘मैले कमाएको सम्पत्ति ‘ह्वाइट मनी’ हो । किनकी सम्पूर्ण सम्पत्तिको मैले राज्यलाई नियमानुसार कर तिरेको छु । मैले काम गर्दा कोही पनि सर्वसाधारणलाई अन्याय वा अत्याचार गरेको छैन भने म कसरी अपराधीझैं कहलिएँ ?’
जीवनको शुरूआती चरणमा १८ वर्ष नेपाल राष्ट्र बैंकमा जागीर गरेका मन्त्री थापा जागीर छोडेर रियलस्टेट व्यवसायमा लागेका थिए । उक्त व्यवसायबाट आर्जन गरेको पैसालाई उनले अटोमोबाइल्स र हाउजिङहरूमा लगानी विस्तार गर्दै गए । व्यवसायबाट आर्जन गरेको पैसालाई उनले एकपछि अर्को क्षेत्रमा लगानी गर्दै गएका उनी अहिले ‘अर्बपति’का रूपमा चर्चित छन् । विभिन्न क्षेत्रमा लगानी गरेकै कारण आज आफू आर्थिक सम्पन्नताको कोणबाट यो स्थानमा पुगेको उनी बताउँछन् ।
मन्त्री थापाको पोखरामा तीन वटा होटेल तथा रिसोर्ट र दुई वटा व्यापारिक भवन (सपिङ मल) छन् । उनले पोखरामा पोखरा बुटिक होटेल प्रालि, बगैंचा रिसोर्ट र रोयल हिमालयन रिसोर्ट प्रालि सञ्चालन गर्दै आएका छन् । त्यस्तै सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर प्रालिलगायत व्यापारिक भवन पनि उनले सञ्चालन गरिरहेका छन् । मेगा बैंकको संस्थापक शेयरधनी रहेका मन्त्री थापाको दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थामा लगानी छ । देखिएको सम्पत्तिमा केही ऋणसमेत रहेको उनको भनाइ छ ।
राष्ट्र बैंकको जागिर छाडेर रियलस्टेट र अटो क्षेत्र हुँदै विभिन्न व्यवसाय गर्दै अगाडि बढेका उनी उद्योग वाणिज्य संघ कास्कीको अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । उद्योग वाणिज्य संघमा अध्यक्षको कार्यकाल सकिएपछि २०७३ सालदेखि नेपाली कांग्रेसको पूर्णकालीन राजनीतिमा होमिएका थापाले प्रदेशसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (ख)बाट माओवादीका प्रभावशाली नेता राजकाजी गुरुङ ‘करण’ र पार्टीकै बलिया बागी उम्मेदवारलाई पराजित गरी कास्कीमा कांग्रेसको ‘बीउ’ जोगाए ।
त्यसो त उनलाई पैसाका कारण राजनीतिमा एकाएक अगाडि आएको आरोप पनि थेगीनसक्नुको छ । तर, उनी २०४८ सालदेखि नै नेपाली कांग्रेसको सुभेच्छुक संस्था डेमोक्र्याटिक लयर्स एसोसिएशन (डीएलआई)को सदस्य रहेर पार्टीका लागि क्रियाशील राजनीति गर्दै आएको दाबी गर्छन् । त्यतिमात्र होइन, उद्योग वाणिज्य संघ कास्कीमा पनि नेपाली कांग्रेसकै राजनीति गरेर थापा अध्यक्ष समेत बनेका थिए । त्यसकारण आफूले पनि पार्टीका लागि लामै योगदान गरेको बताउने उनी अरूसँग आफ्नो तुलना नहुने पनि बताउँछन् ।
तत्कालीन समयमा पोखरा महानगरपालिकाको मेयरको टिकट दाबी गरेका उनलाई पार्टीले नै प्रदेशसभा सदस्यका लागि टिकट दिएको बताउँछन् । राजनीतिक रूपमा आफ्नो क्षमताका कारण पार्टीले आफूप्रति न्याय गर्दै आएको बताउने थापा मन्त्री हुनुमा पनि आफ्नो क्षमताकै कदर भएको दाबी गर्छन् ।
आफूलाई मन्त्री बनाएर नेपाली कांग्रेसले जनमतको कदर गरेको भन्दै उनले पार्टीलाई धन्यवाद समेत दिएका छन् ।
FACEBOOK COMMENTS