काठमाडौं । कानुनतः नेपालमा यौन व्यवसाय बर्जित छ । सामाजिक, कानुनी र स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट समेत यो पेसा/व्यवसाय सञ्चालन वा यसमा संलग्नताको कुरा नेपालमा असम्भवप्रायः छ । परम्परागत तथा नैतिक मूल्यमान्यतामा आधारित नेपाली समाजमा यौन व्यवसायको परिकल्पना गर्न समेत गाह्रो छ । यसलाई नेपाली समाजले नकारात्मक दृष्टिाकोणले हेर्ने मात्र होइन, स्वीकार गर्न पनि सक्दैन ।
यसो भन्दैगर्दा नेपाल यौनकर्मीरहित देश हो भन्न सकिने अवस्था पनि छैन । हाम्रा विभिन्न सहरहरूमा लुकीछिपी रूपमा यस्ता कार्य भइरहेका घटना बारम्बार सार्वजनिक भइरहेकै छन् । लुकीछिपी रूपमा भइरहेका यस्ता कार्यले ‘यौनकर्मीहरू’ स्वयम् शोषण, हिंसा र विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित पनि हुँदै आएका छन् । त्यतिमात्र होइन कानुनी रूपमा गैरकानुनी रहेको यो पेसामा संलग्नहरूले प्रशासनिक दमन, जबरजस्ती शोषण र सामाजिक विभेदहरू पनि सहँदै आएका छन् । वैध नभएकै अवस्थामा लुकीछिपी भइरहेका यस्ता कार्यबाट सिर्जित समस्या समाधान हुन नसकिरहेको अवस्थामा यसलाई वैध बनाएर व्यवसायीकरण गर्ने कुरा आफैँमा थप चुनौतीपूर्ण पनि छ ।
हुन त संसारमा यस्ता देशहरू पनि छन् जहाँ यौन व्यवसायलाई पूर्ण रूपमा कानुनी बनाइएको छ । जस्तोः नेदरल्याण्ड्स, थाइल्याण्ड, जर्मनी, न्यूजिल्याण्ड, फ्रान्स, सिङ्गापुर, उरुग्वे र अष्ट्रेलियाका कतिपय राज्यहरूमा यौन व्यवसायलाई कानुनी मान्यता दिइएको छ । ती मुलुकहरूका आ–आफ्नै कानुनी मान्यताअनुसार व्यवसायीले फर्म दर्ता गर्ने तथा सरकार वा स्थानीय निकायहरूले त्यो पेसालाई नियमन गर्ने गरेको पाइन्छ ।
नेपाललगायत छिमेकी राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशलगायत मुलुकमा यो पेसा अवैध छ, तर यी सबै देशमा कुनै न कुनै रूपबाट यौन व्यवसाय सञ्चालनमा छन् । नेपालको हकमा अवैधानिक रूपमा चल्दै आएको यो पेसालाई पूर्णतः अन्त्य गरिनुपर्छ भनेर राज्य तथा निजीस्तरबाट समेत बहस–पैरवी हुँदै आएका छन्, तर सम्भव भइरहेको छैन । स्वास्थ्य सुरक्षाका दृष्टिकोणबाट हेर्दा यसरी लुकेर गरिने यौन कार्यका कारण विभिन्न यौनजन्य रोगहरू फैलिने जोखिम बढिरहेको छ । यदि नियमनसहित सञ्चालन गरियो भने यौनकर्मीहरूको स्वास्थ्य परीक्षण, सरसफाइ तथा सुरक्षित यौन सम्पर्कको व्यवस्था गर्न सकिने तर्कहरू पनि आउन थालेका छन् ।
त्यतिमात्र होइन यौन व्यवसायलाई पर्यटनका रूपमा व्यवसायीकरण गरेर मुलुकले आर्थिक उपार्जन गर्नुपर्ने तर्कहरू समेत नीति–निर्माताहरूबाटै आउन थालेका छन् । त्यसको पछिल्लो उदाहरणका रूपमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे हुन् । उनले आइतबार (चैत ३ गते) बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा ‘यौन व्यवसायलाई व्यवसायीकरण गरेर मुलुकलाई धनी बनाउनुपर्छ’ भन्ने धारणा व्यक्त गरे । यौन व्यवसायलाई पनि पर्यटन क्षेत्रको एउटा अंश बनाएर मुलुकलाई छिटोभन्दा छिटो आर्थिक विकासमा अगाडि बढाउनुपर्छ भन्ने आशयबाट आएको उनको अभिव्यक्तिलाई लिएर संसदभित्र र बाहिर चर्को आलोचना भइरहेको छ ।
आज सोमबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा प्रतिपक्ष बेञ्चका मात्रै होइन सत्तापक्षकै सांसदहरूले समेत उनको अभिव्यक्तिको चर्को आलोचना गरेका हुन् । प्रतिनिधि सभाका सांसदहरू माओवादीकी दुर्गा राई र राप्रपाका दीपक बहादुर सिंह तथा राष्ट्रिय सभा सदस्य एमालेकी रुक्मिणी कोइरालाले सांसद घिमिरेको अभिव्यक्तिमाथि चर्को आलोचना गरेका हुन् । उनीहरूले सो अभिव्यक्ति अमर्यादित र आपत्तिजनक भएको भन्दै संसदको रेकर्डबाट हटाउन समेत माग गरेका छन् ।
कसले के भने ?
नेपाली समाजको मूल्य र मान्यताविपरीत गरिमामय सदनमा त्यस्तो अमर्यादित र आपत्तिजनक धारणा राख्ने अधिकार विधायिकालाई नभएको तर्क राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालाको छ । त्यस्तो अभिव्यक्तिले समाजमा पर्ने असरको समेत हेक्का नराखी अभिव्यक्ति दिएका सांसद घिमिरेले माफी माग्नुपर्ने उनले बताइन् ।
यस्तै, प्रतिनिधि सभा सदस्य दुर्गा राईले पनि यौन व्यवसायबाट अर्थोपार्जन गर्ने चिन्तनको घोर विरोध गरेकी छिन् । सांसदको यस्तो विचारले अनुशासित र मर्यादित रूपमा रहेको नेपाली समाजलाई अराजकतातिर लैजाने चिन्ता व्यक्त गर्दै उनले सांसद घिमिरेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरिन् ।
‘यौन व्यवसायलाई कानुन बनाई मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थोपार्जन गरौँ भन्ने कुरा दोस्रो पटक यस सम्मानित संसदमा उठाउनु आपत्तिजनक विषय हो । यस्तो चिन्तनको घोर विरोध गर्दछु,’ उनले भनिन्, ‘यस्तो विचारले अनुशासित र मर्यादित रूपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउन सभामुख महोदयको रुलिङको माग गर्दछु ।’ उनले यौन व्यवसायमा आफ्नो परिवारका कोही पनि सदस्यलाई पठाउन तयार हो कि होइन भनेर सांसद घिमिरेलाई प्रश्न समेत गरेकी छिन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले प्रकृतिको देश नेपाल देवी पूजनको भूमि तथा सीता, भृकुटी र बुद्धको भूमि भएको चर्चा गर्दै यस्तो भूमिमा त्यस्तो कर्म सम्भव नरहेको बताए । ‘यो देश प्रकृतिको सुन्दर देश हो । यो देश जलस्रोतको विश्वकै ठूलो दोस्रो धनी देश हो । यो देश देवभूमि हो, यो देश माता सीता र भृकूटीको भूमि हो । यो देश देवी पूजनको भूमि हो । यो देश बुद्ध जन्मेको भूमि हो,’ उनले प्रश्न गर्दै भने, ‘यौन व्यवसाय चलाएर पैसा कमाउने दिनकै लागि गणतन्त्र ल्याएको हो ? यही दिनका लागि राजा फ्याँकेको हो ?’ यौन व्यवसायलाई कानुनी बनाएर कतै सरकारले नै व्यवसाय सञ्चालन गर्न लागेको हो कि भन्ने आशङ्का समेत उनले व्यक्त गरेका छन् ।
यस्तो छ देश धनी बनाउने सांसद बासुदेव घिमिरेको योजना
आज बसेको प्रतिनिधि सभा बैठकमा सांसद बासुदेव घिमिरेले यौनलाई व्यवसायीकरण गर्ने वा नगर्ने विषयमा धारणा त राखेनन् तर पर्यटनबाटै मुलुकलाई समृद्ध पार्न सकिनेमा बलियो धारणा व्यक्त गरे । नेपालको समृद्धिको आधार पर्यटन नै भएकोमा जोड दिँदै उनले धार्मिक पर्यटनलाई व्यवस्थित गर्न सके मुलुकले खरबौँ रूपैयाँ आर्जन गर्न सक्ने खाका नै पेश गरे ।
उनले संसदमा दिएको अभिव्यक्ति जस्ताको त्यस्तै– ‘मैले यो विषय सदनमा पटक–पटक उठाएको छु । किनभने हाम्रो समृद्धिको आधार पर्यटन नै हुनसक्छ । भारतमा डेढ महिना चलेको महाकुम्भको अवधिमा मात्र करिब १० लाख नेपालीले कम्तीमा २० अर्ब रूपैयाँ खर्चिएको चर्चा छ । भारतले धार्मिक पर्यटन प्रवर्द्धनका लागि आकर्षक र योजनाबद्ध काम गरेकाले महाकुम्भमा नेपालीहरूको समेत आकर्षण रह्यो । नेपालले पनि भारतीयलाई लक्षित गरी धार्मिक पर्यटन प्रवर्द्धनमा धेरै काम गर्न सक्ने देखिन्छ । लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरलाई केन्द्रित गरेर वर्षको कम्तीमा १० दिन भारतीय यात्रुवाहक सवारी साधनलाई भन्सार निःशुल्क गर्ने, सरल प्रशासनिक विधिबाट आवतजावत र बसाइ व्यवस्थापन गर्ने हो भने करिब एक करोड भारतीय पर्यटकलाई सजिलै नेपालमा भित्र्याउन सकिन्छ । यसरी आउने पर्यटकले प्रतिव्यक्ति करिब १० हजार भारतीय रूपैयाँ खर्च गर्दा एक खर्ब ६० अर्ब रूपैयाँ बराबरको आर्थिक क्रियाकलाप हुन्छ । तसर्थ तीर्थाटनको चरणबद्ध योजना बनाई पर्यटन प्रवर्द्धन अभियानमा लाग्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
के बोलेका थिए सांसद श्याम कुमार घिमिरेले ? जसले उनलाई आलोचित बनायो (जस्ताको त्यस्तै)
धार्मिक क्षेत्रहरूमा माछा, मासु, रक्सी (मदिरा) जस्ता कुराहरूलाई पूर्ण रूपमा प्रतिबन्ध गरिनुपर्छ । पशुपतिनाथ र मुक्तिनाथ जस्ता धार्मिक क्षेत्रहरूमा मदिरा र मासुजन्य पदार्थहरूको बन्देज लगाउनुपर्छ । तर, हामीले व्यावसायिक रूपमा यसको विकास पनि गर्नुपर्छ । त्यसका लागि निश्चित ठाउँ तोकेर मदिराका लागि छुट्टै, मनोरञ्जनका लागि छुट्टै व्यवस्था गरिनुपर्छ । मैले त बारम्बार भन्दै आएको छु– यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ । जसले यो मुलुकमा पर्यटकको सङ्ख्यालाई बढाउँछ । धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्, एडभेञ्चरका पर्यटकहरू थोरै मात्र हुन्छन्, संसारमै सबैभन्दा बढी मनोरञ्जनका पर्यटक हुने गरेका छन् । त्यसलाई आकर्षण गर्न सकियो भने मुलुकमा आर्थिक विकास हुन्छ । यस्ता कुरा विपक्षीले उठाइदिएको भए क्या गज्जब हुन्थ्यो !
यौन व्यवसायलाई कानुनी मान्यता दिनु ठीक कि बेठीक ?
यो व्यवसायलाई व्यवसायीकरण गर्ने कि नगर्ने भन्ने कुरा हाम्रो समाजको नैतिक, सांस्कृतिक, कानुनी व्यवस्था तथा आर्थिक संरचना समेतमा निर्भर रहन्छ । कानुनी मान्यताका सकारात्मक र नकारात्मक दुईवटै पक्षहरू बलिया हुन सक्छन्, तर नेपालको परिवेशमा तत्काल यो पेसालाई व्यवसायीकण गर्ने कुनै सम्भावना छैन । यौनकर्मीहरूको अधिकार सुरक्षित गर्ने, स्वास्थ्य सुरक्षामा सुधार ल्याउने, अपराध नियन्त्रण गर्ने र आर्थिक योगदानको समेत अपेक्षा राखेर गरिने बहस–पैरवी आफैंमा आपत्तिजनक वा अमर्यादिन हुन सक्दैनन्, तर हाम्रो देशमा यो वैध नरहेको र यसलाई समाजले पनि सहजै स्वीकार नगर्ने हुनाले यस विषयलाई लिएर आक्रोश उत्पन्न हुनु स्वाभाविक नै हो ।
नेपालको सामाजिक संरचनामा नकारात्मक असर पर्ने, मानव बेचबिखन र बालयौन शोषणका घटना बढ्न सक्ने, परिवारहरूभित्र अस्थिरता पैदा गर्ने तथा यौनजन्य घटनाहरू बढ्न गई राजनीतिक तथा प्रशासनिक जटिलता समेत बढ्ने हुँदा यसबारेमा धेरै बहस, चर्चा गर्न आवश्यक छैन भन्ने धारणा पनि उत्तिकै बलियो छ ।
आर्थिक उपार्जनका लागि नेपालले यौन व्यवसाय रोज्ने बेला भएको हो ?
नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक, साहसिक र ग्रामीण पर्यटनमा धनी देश हो । यिनै क्षेत्रलाई व्यवस्थित र आवश्यक प्रवर्द्धन गर्न सक्यौँ भने आर्थिक उपार्जनका लागि अर्को विषयमा तत्काल सोचिरहन पर्दैन । नेपाल हिमालहरूको देश भएका कारण यहाँ पर्वतीय पर्यटन अत्यन्त लोकप्रिय रहँदै आएको छ । त्यस्तै, हिन्दु र बौद्ध धर्मका साथै अन्य विविधतायुक्त जातजातीको धर्मसंस्कृति पनि नेपालका सम्पत्ति हुन् । तिनको प्रचार–प्रसार गर्न सकिए मनग्य आम्दानी गर्न सकिन्छ ।
ट्रेकिङ, र्याफ्टिङ, रक क्लाइम्बिङ, प्याराग्लाइडिङ र बञ्जी जम्पलगायत साहसिक खेल तथा गतिविधि गर्न सकिने प्रशस्त ठाउँहरू छन् । त्यस्ता ठाउँमा पूर्वाधार निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । यसैगरी जैविक विविधता तथा वन्यजन्तुलाई पनि पर्यटनका रूपमा व्यापक प्रचार गरिनु आवश्यक छ । जस्तैः चितवन, बर्दिया, शुक्लाफाँटा र रारालगायत राष्ट्रिय निकुञ्ज तथा तालतलाउलाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्छ ।
ग्रामीण तथा सांस्कृतिक पर्यटनका निम्ति नेवारी संस्कृति झल्काउने पुरानो सहरका रूपमा बन्दीपुर, गुरुङ समुदायको मनमोहक बासस्थान झल्काउने लमजुङको घलेगाउँ, होम–स्टे प्रवर्द्धन गरिएको गाउँ सिरुबारी, चिया बगान र हरियाली डाँडा तथा पडाह भएको जिल्ला इलाम, रानी महल, पाल्पाली ढाकाको कपडाले चिनिने पाल्पाको तिनाउलगायत देशको स्वच्छ हावापानी र उपयुक्त मौसमलाई समेत हमीले पर्यटनका रूपमा अगाडि बढाउन सक्छौँ ।
यी र यस्ता अन्य धेरै क्षेत्रको प्रचार–प्रसार गरी योजनाबद्ध प्रवर्द्धन गर्न सकिएको खण्डमा नेपालाई विश्वकै धनी देशका रूपमा विकास गर्न सकिन्छ । त्यसका लागि हाम्रो समाज र संस्कृति प्रतिकूल हुने यौन व्यवसायको कुनै जरुरी छैन ।
FACEBOOK COMMENTS