काठमाडौं । नेकपा एमालेले वालेन्द्र शाह नेतृत्वको सरकार तानाशाहतर्फ अघि बढेको भन्दै तत्काल अध्यादेश खारेज गर्न माग गरेको छ ।
जारी प्रतिनिधिसभा बैठकमा एमाले सचिवसमेत रहेकी सांसद पद्मा अर्यालले हिजो अध्यादेशको विरोधमा सदन तताउनेहरू आज त्यही बाटोमा हिँडेको टिप्पणी गरिन् ।
उनको प्रश्न छ, ‘यो राजनीतिक विवेकको परिपक्वता हो कि सत्ता सुविधा अनुसार बदलिएको नैतिकता ? जनताले रुपान्तरण भनेर बुझ्ने कि निर्लज्जताको पराकाष्ठा भनेर चिन्ने ?’
‘के नयाँ सोच भनेको संसदलाई पन्छाएर कार्यपालिकाको स्वेच्छाचारिता शासन लाद्ने हो ? आव्हान भइसकेको संसद स्थगित गरेर अध्यादेश ल्याउन सरकार आफ्ना निर्णयमाथि उठ्ने प्रश्नबाट भाग्न खोजेको कायरताको श्रृंखला हो’, उनको टिप्पणी छ ।
प्रधानन्यायाधीशको सिफारिसले स्थापित मान्यता खण्डित गरेको र शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाएको उनले आरोप लगाइन् । न्यायपालिकाको प्रमुख विधि नभई प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य सिर्जना गरिँदै गरेको उनको भनाइ थियो । यसले स्वतन्त्र न्यायपालिकाको घाँटी निमोठ्ने काम गरेको उनले बताइन् ।

विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजीले सरकारको नियतमाथि प्रश्न उठेको भन्दै उनले सोधिन्, ‘के यो देशमा राजनीतिक आस्था मरेको हो ? दलसम्बन्धी नै अध्यादेश ल्याएर राजनीतिक दलहरूलाई नै संकूचित र नियन्त्रित गर्ने दुस्साहस हुँदैछ ? यो लोकतान्त्रिक हैन नियन्त्रित तानाशाहतर्फको यात्रा हो । कार्यपालिकाको स्वेच्छाचारिता बन्द होस् । संसदको हुर्मत लिने र सांसदहरूको अधिकार कुण्ठित गर्ने कार्य बन्द होस् । अध्यादेशहरू खारेज गरियोस् ।’

सुकुमबासीलाई डोजर आतंकबाट बिचल्ली बनाइएको भन्दै एमालेले विरोध जनाएको छ ।