भदौ २३ गते भएको नव–युवा पुस्ता (जेन्जी पुस्ता) को आन्दोलन र २४ गते गरिएको विध्वंसबाट मुलुकमा उत्पन्न असामान्य र अकल्पनीय घटनापछि विकसित परिस्थितिमा अहिले हामीहरू उभिएका छौं ।
अहिले संविधानमाथि अतिक्रमण गरिएको र प्रतिगमनका प्रयत्न भएका छन् र त्यसैको जगमा मुलुकलाई अगाडि बढाउने कोशिस गरिदैछ । अहिले यसैको जगमा आम जनताको दैनिकी क्रमश: सामान्य हुंदै गए जस्तो देखिए पनि राजनीतिक अन्यौलता र अनिश्चितता भने कायमै छ र गहिरिदो छ ।
राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकार माथिको खतरा उस्तै छ । यो असाधारण अन्यौलता, अनिश्चितता र अप्ठ्यारोबाट मुलुकलाई मुक्त गरी लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने ऐतिहासिक कार्यभार हाम्रा अगाडि छ ।
यो महत्वपूर्ण र ऐतिहासिक कार्यभार पुरा गर्न लोकतन्त्रप्रति प्रतिवद्ध सबै राजनीतिक दल, नव युवा पुस्ता, नागरिक समाज र राज्यका निकायहरू विचको समझदारी, एकता र गहिरो आपसी विश्वास जरूरी छ । त्यही एकता र विश्वासको जगमा नै हामीले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमान र लोकतन्त्रलाई अक्षुण राख्न सक्छौं ।
यसबीच व्यक्त भएको नव युवा पुस्ता र आम जनताको आकांक्षा, आशा, असन्तुष्टी र आक्रोशलाई नजरअन्दाज गरेर अघि जान मिल्दैन र सकिदैन पनि । त्यसले दिएको सन्देश र स्थापित गर्न खोजेको मानक, त्यसमा व्यक्त मनोविज्ञानलाई ग्रहण गर्न जरूरी छ । सोही अनुसार हाम्रो विचार, कार्यशैली र भविष्यका योजनाहरूलाई अद्यावधिक गर्न जरूरी छ ।

राष्ट्रिय जीवनमा गम्भीर क्षति पुर्याएको भदौ २४ को विध्वंसलाई कुनै पनि बहानामा बेवास्ता गर्न सकिदैन । त्यसमा संलग्नहरूलाई उन्मुक्ती दिएर हामीले राष्ट्रिय आत्मविश्वास उठाउन सक्दैनौं । त्यसका लागि हामी सबैले आग्रह, पूर्ववत अडान, अहंकारलाई त्यागेर नयाँ विश्वास र नयाँ आशा निर्माण गर्न सक्नु पर्छ । आन्दोलन र विध्वंसको पक्ष/विपक्ष वा वादी/प्रतिवादीको रूपमा मनोविज्ञान भड्काएर राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षा गर्न सकिँदैन ।

इतिहासका हरेक राष्ट्रिय शंकट र अप्ठ्याराहरूमा जिम्मेवार भूमिका निर्वाह गर्दै मुलुकमा सकारात्मक निकासका लागि नेतृत्व गर्दै आएको पार्टी नेकपा (एमाले) हो भन्ने कुरा आम नेपाली नागरिकहरू सबैलाई जानकारी भएकै कुरा हो । पार्टीको यो भूमिकासित गांसिएर एउटा जीबित साक्षी र सिपाहीको रूपमा म आफू पनि रहेको जानकारी गराउन चाहान्छु ।

स्कूले विद्यार्थी हुंदादेखि, को–अर्डिनेसन केन्द्र, नेकपा (माले) हुंदै नेकपा (एमाले) का प्रारम्भिक दिनदेखि; भूमिगत जीवन, जेल जीवन, निरंकुश पन्चायती शासन काल, त्यसपछिको खुला राजनीतिमा संसदीय भूमिका, सरकारी कामको जिम्मेवारी बहन गर्ने सिलसिलामा र पदीय हिसावले पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी, दुईपटक महासचिव हुंदै हाल पार्टीको बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेको छु । यसक्रममा सदैव राष्ट्र, जनता र पार्टी हितमा रहंदै आएको कुरा सगौरव स्मरण गराउंदछु ।

आगामी दिनमा पनि मेरो यो प्रतिवद्धतामा कुनै कमी आउने छैन । म यो कठिन परिस्थितिमा आम जनसमूदाय, जेन्जी पुस्ता र पार्टी पंक्तिलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा मुलुकलाई फर्काउन बिगतमा जस्तै फेरि एकपटक अभूतपूर्व एकताका लागि अपील गर्दछु । त्यसका लागि हाम्रो तर्फबाट भएका कमजोरीप्रति आत्मालोचित हुंदै राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षाका लागि अविचलित रूपमा उभिने दृढता व्यक्त गर्दछु ।

मलाई थाहा छ– यही परिस्थितिमा हुन लागेको हाम्रो पार्टी नेकपा ( एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनले (२७–२९ मंसिर २०८२, काठमाण्डौं) सबैको ध्यान तानेको छ । गत २०–२२ भदौ मा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्तावेजहरू पारित गरिएको थियो । भदौ २३–२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ ।
राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन् (रहेनन्) । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्तैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ ।
भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ । तसर्थ, आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप वहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ । हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको वहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ ।
महाधिवेशन प्रतिनिधिहरूको छनोट मंसिर १३ गते देशभर एकै दिन हुंदैछ । ज ब ज को संगठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपील गर्दछु ।
प्रतिगमनको बिरोध गर्दै संविधानको रक्षा, असंवैधानिक तरिकाले गरिएको संसद भंगको खारेजी तथा घोषित मितिमा संसदको निर्वाचन सम्पन्न गर्न उपयुक्त वातावरण निर्माणका लागि जनदबाब सिर्जना गर्नु आवश्यक छ । यही आवश्यकता बोध गरेर नेकपा (एमाले) ले देशैभरि जनपरिचालन गर्ने निर्णय अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमको आयोजना गरेको छ ।
यस क्रममा यही कार्तिक २९ गते प्रत्येक जिल्ला र मंसिर ६ गते राजधानी काठमाण्डौंमा आयोजना हुने जागरण प्रदर्शनमा सक्रिय सहभागी हुन म सम्पूर्ण पार्टी पंक्ति तथा आम जनसमूदायलाई अपील गर्दछु ।
ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष
नेकपा (एमाले)
२०८२/७/२८
FACEBOOK COMMENTS