काठमाडौँ । बंगलादेश क्रिकेट बोर्डले आफ्न फाइनान्स कमिटीका निर्देशक नजमुल इस्लामलाई बर्खास्त गरेको छ ।
बंगलादेशका क्रिकेट खेलाडीको कल्याणकारी संघले इस्लामलाई नहटाएसम्म सबै खेल बहिष्कार गर्ने अडान लिएपछि बोर्डले उनलाई हटाएको हो ।
बोर्डले भनेको छ, ‘हालैका घटनाक्रमहरूको समीक्षा पछि र संस्थाको सर्वोत्तम हितमा, बोर्ड अध्यक्षले नजमुल इस्लामलाई वित्त समितिको अध्यक्षको रूपमा उनको जिम्मेवारीबाट तत्काल प्रभावबाट मुक्त गर्ने निर्णय गर्नुभएको छ । यो निर्णय बोर्डको विधानको धारा ३१ अन्तर्गत बोर्ड अध्यक्षमा निहित अधिकार अनुसार लिइएको हो र बोर्डको मामिलाको निरन्तर सहज र प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने उद्देश्यले गरिएको हो । अर्को सूचना नभएसम्म, बोर्ड अध्यक्षले वित्त समितिको कार्यवाहक अध्यक्षको भूमिका ग्रहण गर्नेछन् ।’
खेलाडीहरुले खेल बहिष्कार गरेपछि आज हुने बंगलादेश प्रिमियर लिगका दुवै खेल रोकिएका छन् ।
खेलाडी बहिष्कारका कारण आज हुने तालिका रहेका चट्टोग्राम रोयल्स र नोआखली एक्सप्रेस बीचको पहिलो र राजशाही वारियर्स र सिल्हेट टाइटन्स बीचको दोस्रो खेल स्थगित गरिएको छ ।

निर्देशक इस्लामले पूर्व कप्तान तमिम इकबाललाई ‘भारतीय एजेन्ट’ भनेपछि क्रिकेटर कल्याण संघले सबै खेल बहिष्कार गर्ने घोषणा गरेको थियो । तमिमले भारत र बंगलादेश क्रिकेट बीचको जारी तनावलाई वार्ताबाट समाधान गर्न सुझाव दिएपछि निर्देशक इस्लामले उनलाई ‘भारतीय एजेन्ट’ भनेको बताइएको छ ।

बंगलादेश क्रिकेट बोर्डले इस्लामलाई स्पष्टिकरण सोधेको भएपनि खेलाडी संघले भने उनलाई हटाउन माग गरेर खेल बहिष्कार गरेका थिए ।


FACEBOOK COMMENTS