काठमाडौँ । वेल्सको सुन्दर तटीय क्षेत्रमा रहेको एउटा निजी टापु विक्रिमा राखिएको छ ।
ग्विनेड क्षेत्रको पोर्टमेइरियन नजिकै ड्वाइरिड इस्टुअरीमा अवस्थित य्निस गिफ्टान नामक ज्वारीय टापु हाल बिक्रीमा राखिएको हो । करिब १७ एकड क्षेत्रफल भएको यस टापुको गाइड मूल्य ३ लाख ५० हजार पाउन्ड तोकिएको छ, जुन नेपाली रुपैयाँमा करिब ६ करोड ९२ लाख रुपैयाँ बराबर हुन्छ । यो मूल्य बेलायतको औसत घर मूल्यभन्दा थोरै मात्र बढी हो ।
टापुमा रहेको भिक्टोरियन शैलीको ढुंगाको फार्महाउसमा सन् १९७० को दशकसम्म मानिस बसोबास गर्थे । तर हाल उक्त घरलाई व्यापक मर्मतसम्भार आवश्यक रहेको रियल इस्टेट कम्पनी कार्टर जोनसले जनाएको छ । इतिहासअनुसार, २०औँ शताब्दीमा यहाँ बस्ने मानिसहरू ज्वार घटेको बेला जुत्ता खोल्दै पानीमा हिँडेर मुख्य भूमिसम्म आउने जाने गर्थे । यो टापु सन् १७०० को दशकमा महारानी एनीले लर्ड हार्लेकका पुर्खालाई उपहारस्वरूप दिएकी थिइन् । त्यसै कारण यसको नामको अंग्रेजी अर्थ ुएनीको उपहार टापुु राखिएको छ ।
उच्च ज्वारको समयमा टापुमा डुंगामार्फत मात्र पुग्न सकिन्छ भने कम ज्वारको बेला ज्वारीय बालुवामाथि करिब ४ सय मिटर पैदल हिँडेर पाँच मिनेटमै पुग्न सकिन्छ । यद्यपि, टापु र मुख्य भूमिबीच दुईवटा नदीका धार बग्ने भएकाले सावधानी अपनाउनुपर्ने विज्ञहरूको चेतावनी छ ।
यो टापु वेल्सको सबैभन्दा सुन्दर तटीय क्षेत्रमा एकान्त जीवन वा नयाँ जीवनशैली परियोजना खोज्ने खरीददारका लागि अद्वितीय अवसर हो । राइटमुभ वेबसाइटमा राखिएको विवरणअनुसार, टापु वरिपरि खुला र अविकसित भू दृश्य छ, जहाँबाट एरिरी राष्ट्रिय निकुञ्जका पहाड र समुद्री किनाराका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । केही स्थानमा जमिन झाडीले ढाकिएको र पुनः चरन तथा व्यवस्थापन आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।

FACEBOOK COMMENTS