काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनी कहाँ छन् भन्नेबारेमा जानकारी रहेको बताउँदै बिनाशर्त आत्मसमर्पण गर्न चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा खामेनीको नाम उल्लेख नगरी राष्ट्रपति ट्रम्पले खामेनीलाई निशाना नबनाउने स्पष्ट गर्दै इरानी ‘सर्वोच्च नेता’ कहाँ छन् भन्ने स्पष्ट जानकारी रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘हामीलाई राम्ररी थाहा छ, तथाकथित ‘सर्वोच्च नेता’ कहाँ लुकेका छन् । उनी एक सजिलो निशाना हुन्, तर उनी अहिलेको लागि त्यहाँ सुरक्षित छन् । हामी उनलाई अहिले नै हटाउन (मार्न) चाहदैनौँ, कम्तीमा अहिले नै होइन । तर, हामी नागरिक वा अमेरिकी सैनिकहरूमाथि मिसाइल प्रहार गर्न पनि चाहँदैनौँ । हाम्रो धैर्यता अब टुट्दै गएको छ ।’
साथै, ट्रम्पले अर्को पोष्टमा खामेनीलाई लक्षित गर्दै ‘बिना शर्त आत्मसमर्पण’ गर्न लेखेका छन् ।
ट्रम्पले इरानको आकाशमा आफ्नो पूर्ण नियन्त्रण रहेको समेत दाबी गरेका थिए । उनले भने, ‘इरानसँग ठूलो मात्रामा राम्रो स्काई ट्र्याकर र अन्य रक्षा उपकरणहरू थिए, तर तिनीहरू अमेरिकामा बनाइएको, डिजाइन गरिएको र निर्मित उपकरणसँग मेल खान सक्दैनन् ।’
उनले यो काम अमेरिकाभन्दा राम्रोसँग कसैले गर्न नसक्ने समेत दाबी गरेका छन् ।
अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहायता र उपकरण प्रदान गर्दै आएको छ, तर इजरायलले शुक्रबार इरानमाथि आक्रमण सुरू गरेपछि भने अमेरिकाले आफू आक्रमणमा संलग्न नभएको दाबी गर्दै आएको छ । तर, इरानले भने अमेरिकाको सहयोगबिना इजरायलले इरानमाथि यति ठूलो आक्रमण गर्न नसक्ने दाबी गर्दै आएको छ ।
FACEBOOK COMMENTS