काठमाडौं । इजरायल सरकारले त्यहाँका स्याहार केन्द्रका लागि माग गर्दै आएको नेपाली केयरगिभरको कोटा बढाएको छ ।
इजरायलले ८०० कोटालाई बढाएर २ हजार पुर्याएको हो ।
नेपालस्थित इजरायली राजदूत हनान गोडरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँगको भेटमा हाल छनोटको चरणमा रहेका ५०० जना मुख्य उम्मेदवार र ३०० वैकल्पिक गरी ८०० नेपाली श्रमिक इजरायल लैजाने बताए पनि सो संख्या बढाएर १ हजार मुख्य र १ हजार वैकल्पिक उम्मेदवार गरी २ हजार जनासम्म लान सकिने भएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले हाल माग गरिएको आवेदनका आधारमा नै थप गरिएका दुई हजार युवा छनोट गरिने बताएका छन् । केही समय अघि विभागले ५०० मुख्यसहित ३०० वैकल्पिक युवाको लागि आवेदन माग गरेको थियो । त्यतिखेर आवेदन दिनेमध्येबाट २ हजार लैजानेतर्फ विभागले काम गरिरहेको छ ।
यस पटक पहिलो चरणमा नै छनोट भएका अधिकांश युवाले इजरायल जाने अवसर पाउन सक्ने देखिएको छ । आवेदकको संख्या र माग संख्यामा खासै फरक नहुने भएकाले पहिलो चरणमा छनोट भएका युवा मध्ये अधिकांशले इजरायल जान पाउने देखिन्छ ।
हाल जीटुजी प्रकियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाका बारेमा इजरायलले चासो दिएको कारण छनोटलाई पारदर्शी र निष्पक्ष गरिएको विभागको भनाइ छ । पछिल्लो समय भारत तथा बंगलादेशबाट कामदार लैजाने तयारी गरिरहेको इजरायलले नेपालबाट तत्काल कामदार लैजाने गरी आवेदन माग गरेको हो ।
हाल आवेदन माग गरिएका कामदारले हवाई टिकटबाहेक लगभग ३५ हजार रुपैयाँमात्र तिर्नुपर्छ । इजरायलका विभिन्न केयरगिभर (वेताबोद) मा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयरगिभर लैजाने तयारीसहित नयाँका लागि आवेदन र पुरानाका लागि भिसा तथा करार सम्झौता धमाधम हुन थालेको विभागले जनाएको छ । यसबाहेक विगत डेढ वर्ष अघिदेखि इजरायल गएर काम गर्ने नेपाली केयरगिभर १ हजार १ सय भन्दा बढी छन् । अब जाने नेपालीले मासिक न्यूनतम २ लाख २५ हजार कमाउनेछन् भने थप काम गरेमा ३ लाख रुपैयाँसम्म कमाइ हुने आकलन गरिएको छ ।
FACEBOOK COMMENTS