युवा साहित्यकार मणि निरौला नेपाली समाजमा विद्यमान ‘साहित्य बुढापाकाले लेख्ने विषय हो’ भन्ने धारणा परिवर्तन हुन आवश्यक रहेको बताउँछन् । यस्तो धारणाले नेपाली साहित्यको उत्थान र विकासमा बाधा पर्ने उनको बुझाइ छ । हुन पनि उनले भनेको कुरा सही हो । यो यस अर्थमा कि हरेक उमेरका मान्छेका आ-आफ्नै किसिमका भावना, अनुभूति र भोगाइ हुन्छन् । र, तिनलाई अभिव्यक्त गर्ने सशक्त माध्यममध्येको एक साहित्य हो । अनि, अर्कातिर साहित्य परिपक्व मान्छेले लेख्ने हो र परिपक्वता कुनै निश्चित उमेरमा पुगेपछि मात्र आउँछ भन्ने धारणा राख्नु पनि संकुचित सोचाइ हुन जान्छ ।
पिता चन्द्रप्रकाश निरौला र माता निर्मला निरौलाका सन्तान मणि तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं. ३ मा जन्मेका हुन् । हाल सुनसरीको इटहरी बसेर त्यहाँस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत मणि आफ्नो साहित्य यात्रामा निकै चुनौतीहरूको सामना गर्नुपरेको बताउँछन् । आफूलाई कलिलै उमेरदेखि साहित्यमा रूचि रहेको बताउने मणि साहित्य नै आफ्नो जिउने प्रेरणा हो भन्छन् । यसैको प्रतिफल उनी २१ वर्षको उमेरमै दुई कृतिका लेखक भइसकेका छन् । ‘पहिलो पाइला’ कवितासंग्रहबाट नेपाली साहित्यमा उनको औपचारिक उदय भएको हो । यो कवितासंग्रह २०७७ सालमा प्रकाशन भएको थियो । हालै उनले आफ्नो दोस्रो कृतिका रूपमा उपन्यास ‘गुप्त प्रेम’ पाठकहरूमाझ पस्केका छन् । प्रस्तुत छ, उनै युवा साहित्यकार मणिसँग कर्पोरेट खबरका पवन खड्काले उनको समग्र साहित्यिक जीवनका विषयमा गरेको संक्षिप्त कुराकानी :
हालै तपाईंको उपन्यास ‘गुप्त प्रेम’ बजारमा आएको छ । यो कस्तो कृति हो ? संक्षिप्तमा बताइदिनुस् न !
‘गुप्त प्रेम’ ‘टीन एज’ को मित्रता, प्रेम र परिवारसँगको सम्बन्धको बयान गर्ने एक ‘सस्पेन्स लभ स्टोरी’ हो, जहाँभित्र तपाईंले आफ्नो बितेको बालापन र आफूलाई भेट्नुहुन्छ ।
पढ्न चाहने पाठकहरूले तपाईंको पुस्तक कहाँ-कहाँबाट प्राप्त गर्न सक्छन् ?
नजिकको पुस्तक पसलमा सम्पर्क गरेर वा अल बुक स्टोर, रिड बुक स्टोर, अनलाइनबाट घरमै पुस्तक प्राप्त गर्न सक्नुहुन्छ ।
तपाईंलाई साहित्यमा प्रवेश गर्ने प्रेरणा कसरी मिल्यो ?
साहित्यप्रतिको मेरो रूचि सानै उमेरदेखिको हो । ५-६ कक्षामा पढ्दादेखि नै कविता, कथामा मेरो औधी रूचि थियो । यतिसम्म कि उतिबेलैदेखि आफूलाई खाजा खाने पैसाले बालसाहित्यिक पत्रिकाहरू किनेर पढ्थेँ ।
तपाईंको निजी विचारमा साहित्य के हो र यसले समाज रूपान्तरणमा कस्तो भूमिका खेल्नुपर्छ भन्ने लाग्छ ?
मेरो विचारमा साहित्य भनेको मन, भावना, लेखन र मिलन हो । किनकि मनमा रहेका, देखेका, भोगेका, बुझेका कुरा विभिन्न भावनामा विभिन्न विधामा रहेर लेखन गरी पाठकसँग मिलन भएपछि नै साहित्य हुन्छ । र, मलाई जिउँदो राख्ने माध्यम पनि साहित्य नै हो । साहित्यले समाजमा रहेका राम्रा/नराम्रा दुवै पाटा सबै पुस्तालाई बुझाउन सक्ने हुनाले समाज रूपान्तरणमा यसको भूमिका महत्त्वपूर्ण रहन्छ ।
यसअघि तपाईंको पहिलो कृतिका रूपमा कवितासंग्रह ‘पहिलो पाइला’ प्रकाशित भइसकेको छ । पहिलो र दोस्रो कृतिको लेखन अनुभवमा केही फरक महसुस रह्यो ?
अवस्था फरक रह्यो । किनकि मेरो पहिलो कृति ‘पहिलो पाइला’ कवितासंग्रह थियो भने दोस्रो ‘गुप्त प्रेम’ उपन्यास हो । विधा फरक भएकाले पनि अनुभव फरक नै रह्यो ।
साहित्यमा तपाईंलाई सबैभन्दा मन पर्ने विधा कुन हो र किन ?
मलाई साहित्यमा सबैभन्दा मन पर्ने विधा उपन्यास नै हो । किनकि मलाई उपन्यास पढ्न फिल्म हेरेभन्दा मजा आउँछ ।
तपाईंको लेखनमा समाजका कुन पक्षले बढी स्थान पाउँछन् ?
एक पाटोमा मलाई अन्याय, अत्याचार, हत्या, हिंसा, बलात्कार जस्ता विषयमा लेख्न मन पर्छ भने अर्को पाटोमा प्रेम, रोमान्स, मित्रता, सम्मान, भरोसा, परिवार जस्ता विषयमा भावनात्मक कहानीको सिर्जन पनि मेरो लेखनका विषय हुन् ।
नेपालको साहित्यिक परिदृश्यमा अहिलेको अवस्थाबारे तपाईंको धारणा के छ ?
एकातिर कवितालाई गीत, उपन्यासलाई फिल्म बनाउने तर साहित्य र स्रष्टाले सम्मान नपाउने दुःखदायी स्थिति छ भने अर्को अवस्था भनेको साहित्य बुढापाकाहरूले लेख्ने, पढ्ने हो भन्ने संकुचित सोचलाई पनि सबैले हटाउन जरूरी छ ।
तपाईंले साहित्य लेख्दै गर्दा कुनै चुनौतीको सामना गर्नुभएको छ ?
पहिलो कृतिमा खासै चुनौतीहरू आएनन् तर ‘गुप्त प्रेम’ २०७५ सालमै लेखिसकेको भए पनि यसलाई पुस्तकका रूपमा बजारमा ल्याउन निकै चुनौतीको सामना गर्नुपर्यो । चुनौती यति आएका थिए कि त्यसबारेको सायद एउटा छुट्टै उपन्यास नै बन्छ होला । चुनौतीहरू हरेक क्षेत्रमा हुन्छन् नै । चुनौतीले नै मलाई अझ आँट र हौसला दिएको हो ।
तपाईंका आगामी योजनाहरू के छन् र पाठकहरूले तपाईंबाट के-कस्ता कृतिहरूको अपेक्षा गर्न सक्छन् ?
योजनाहरू त धेरै छन् । अर्को उपन्यासको लेखन आधा भइसकेको छ । पाठकहरूले ‘गुप्त प्रेम’ को दोस्रो खण्ड पनि आउनुपर्छ है भन्दै म्यासेजहरू गरिरहनुभएको छ । यसबारे पनि सोच्न सकिन्छ ।
अन्त्यमा थप केही भन्नु छ ?
‘गुप्त प्रेम’ लाई सबैले माया गरिदिनुभएको छ । सधैं यस्तै मायाको अपेक्षा गर्छु र पढेर सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु ।
FACEBOOK COMMENTS