काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने र धेरै अनियमितता हुने क्षेत्र भएको बताएकी छिन् ।
आज मंगलबार आर्थिक पत्रकार समाज (सेजन)ले सूचना प्रविधि दशक तथा ३० खर्ब रुपैयाँको सेवा निर्यातको सम्भावनाबारे काठमाडौंमा आयोजना गरेको ‘आईटी डेकेडः अ अवे फरवार्ड एक्सप्लोरिङ द पोसिबिलिटिज अफ थ्री ट्रिलियन एक्स्पोर्ट’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सूचना तथा प्रविधिको क्षेत्रमा धेरै अनियमितता हुने गरेको बताएकी हुन् ।
त्यस्तो अनियमिततालाई नियन्त्रण गर्न सूचना र प्रविधिको क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्ने बताउँदै उनले यस क्षेत्रको अनियमितताबारे सबैतिरबाट खबरदारी हुन आवश्यक रहेको बताइन् । ‘यो सूचना र प्रविधिको क्षेत्र भनेको आम जनताले नबुझ्ने क्षेत्र र असाध्यै धेरै अनियमितता हुने क्षेत्र हो । त्यो अनियमिततालाई नियन्त्रण गर्न पनि यो क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्छ । सबैतिरबाट खबरदारी हुनुपर्छ,’ मन्त्री शर्माले भनिन्, ‘जसरी अन्य क्षेत्रमा हुने अनियमितताको विषयमा सबै जानकार हुन्छन् । तर, यो क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा रहेछन् । त्यसकारण हाम्रा विगतका नीति, नियम, कानून र जनतालाई सचेत गराउने कुरा मुख्य कुरा हो, त्यो गर्नुपर्ने छ ।’ विगतका नीति, नियम, कानून समयसापेक्ष बनाइ नागरिकलाई सचेत गराउन आवश्यक रहेको उनको भनाइ छ ।
यस्तै, उनले आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरुका रुपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र पाँच लाखलाई प्रत्यक्ष, १० लाखलाई परोक्ष रोजगारी सृजना गर्ने लक्ष्य निर्धारण गरिएको जानकारी दिइन् ।
‘आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरुका रुपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको छ,’ उनले भनिन्, ‘यसलाई कार्यान्वयनमा लैजान हामीले सञ्चार मन्त्रालयअन्तर्गत कार्यदल बनाएर काम अघि बढाउने भनेर होमवर्क गरिरहेका छौँ । यसबाट हामीले स्पष्ट दृष्टिकोण ल्याउने छौँ ।’ आगामी वर्षको बजेटले अब हामी कता जाँदैछौँ भन्ने प्रारम्भिक खाका तय गरेको उनको भनाइ थियो ।
मन्त्री शर्माले २०७६ सालमा सुरू भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हुन नसकेको पनि बताएकी छिन् । यद्यपि, सरकारले त्यसका लागि डिजिटल फाउन्डेसको काम गरिरहेको उनको भनाइ छ । यस्तै, उनले सेवाप्रदायकहरूको समस्यालाई कानुनको सुधारमार्फत मात्रै सम्बोधन गर्न सकिने भएकाले कानुन संशोधन वा सुधार गर्न आवश्यक रहेको बताइन् ।
सूचना प्रविधि दशकलाई प्रभावकारी र लक्ष्यप्राप्तिका लागि सरकार, निजी क्षेत्र र आम नागरिक सबैले हातेमालो गर्नुपर्ने धारणा उनको छ ।
FACEBOOK COMMENTS