काठमाडौं । नेपालमा ओमोडा एन्ड जेइको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले अल–न्यू जेइको सिक्स–टी सार्वजनिक गरेको छ।
सोमबार राजधानीमा एक कार्यक्रमबीच सिक्स–टीको सार्वजनिक शारदा समूहका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा र निर्देशक गौरव शारडाले गरेका थिए ।
नयाँ सिक्स–टीलाई उत्कृष्ट श्रेणीको विद्युतीय अल–रोडर सवारीका रूपमा प्रस्तुत गरिएको छ । यसमा २२५ मिलिमिटर भू–उचाइ (ग्राउन्ड क्लियरेन्स), ४३१ किमि यात्रा क्षमता तथा १९ इन्चका टायरजस्ता विशेषता रहेका छन् ।
कम्पनीका अनुसार, पछाडिका पांग्राबाट चल्ने (रियर–ह्विल ड्राइभ) प्रकारमा उपलब्ध यस गाडीको अधिकतम खुद्रा मूल्य ६८ लाख ९९ हजार तोकिएको छ । तर, लन्च अफरअन्तर्गत, ग्राहकले ६६.९९ लाखमै खरिद गर्न सक्नेछन् ।
सिक्स–टीमा पछाडि जडान गरिएको मोटर छ, जसले २२० न्यूटन–मिटर टर्क उत्पादन गर्छ। यसमा लिथियम–आयरन–फस्फेट (एलएफपी) प्रकारको क्याटिएल ब्याट्री प्रयोग गरिएको र यसले एकपटकको चार्जमा ४३१ किमिसम्म यात्रा गर्न सक्ने क्षमता प्रदान गर्छ ।

डिजाइनका हिसाबले यो गाडी ल्यान्ड रोभर डिफेन्डरबाट प्रेरित बाकस आकारको तथा मजबुत (रग्ड) शैलीमा तयार गरिएको कम्पनीको दाबी छ । यसको लम्बाइ चार हजार ४३३ मिलिमिटर, चौडाइ एक हजार ९१६ मिलिमिटर, उचाइ एक हजार ७४१ मिलिमिटर तथा ह्विलबेस दुई हजार ७१५ मिलिमिटर रहेको छ ।

सुविधाका रूपमा १५.६ इन्चको केन्द्रीय टच–स्क्रिन, ९.२ इन्चको डिजिटल उपकरण प्यानल, ५० वाट ताररहित चार्जर तथा आठवटा स्पिकर जडान गरिएको छ ।
यसअघि सार्वजनिक गरिएको जेइको सिक्स–टी मा २०० मिलिमिटर भू–उचाइ तथा ४०० किमि यात्रा क्षमता उपलब्ध थियो ।

नयाँ सिक्स–टीमा यी दुवै पक्षमा सुधार गर्दै थप उन्नत बनाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ सिक्स–टी देशभरका ओमोडा एन्ड जेइकोका आधिकारिक सोरुममा उपलब्ध भइसकेको छ ।


FACEBOOK COMMENTS