काठमाडौं । नेकपा (माओवादी केन्द्र) नेता तथा राष्ट्रियसभा सदस्य जगत् पार्कीले वर्तमान सरकारले आमजनताको हितभन्दा पनि दलाल र बिचौलियाको प्रतिनिधित्व गरिरहेको आरोप लगाएका छन् ।
मङ्गलबार राष्ट्रियसभामा बोल्दै सांसद पार्कीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका जनताको विकास र समृद्धिसँग सम्बन्धित मुद्दालाई बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
बिचौलियाहरूको पहुँच प्रधानमन्त्री केपी शर्मा ओलिको सुत्ने बेडसम्म नै रहेको दाबी गर्दै उनले भने, ‘सरकारले जतिसुकै राम्रो नीति तथा कार्यक्रम ल्याएको भए पनि त्यसलाई कार्यन्वयन गर्न उचित व्यवस्थापन पनि आवश्यक पर्दछ । कार्यन्वयनको ठाउँमा रहेका कुलमान जस्ता कर्मचारीहरूलाई बर्खास्त गर्ने यो सरकारले बजेटको कार्यन्वयन गर्छ भनेर कुनै विश्वास नै छैन ।’
‘सरकारका यी क्रियाकलाप र घटनाक्रमलाई राम्रोसँग हेर्दाखेरि यो सरकार राष्ट्र र जनताको पक्षमा काम गररिरहेको छ भन्ने मलाई लाग्दैन । त्यसकारणले हामीले यो नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छौँ,’ सांसद पार्कीले भने ।
देशलाई आत्मनिर्भर बनाउनका उपलब्ध काठ नै पर्याप्त रहेको र त्यसको सही सदुपयोग गरेर विदेशबाट हुने आयात रोक्नुपर्नेमा उनले जोड दिए ।
‘हामीसँग यति धेरै काठ छ तर बिडम्बना विदेशबाट काठ आयात गरिरहेका छौं । वन मन्त्रालयले देशमा भएको काठलाई सही तरिकाले सदुपयोग गर्न सकेको खण्डमा देश आत्मनिर्भर बन्छ,’ उनले भने ।
उनले वर्तमान सरकारले दलित नागरिकहरूलाई दोस्रो दर्जाको मानिसको रूपमा लिएको हो भन्दै प्रश्न गरे । उनले सरकारको नीति तथा कार्यक्रममा दलितहरूको हकअधिकारको कुनै पनि विषय समावेश नगरिएको बताए ।
FACEBOOK COMMENTS