काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले दुबईमा आयोजित अन्तर्राष्ट्रिय वितरक सम्मेलनमा दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
शंकर समूहअन्तर्गत रहेको जगदम्बा मोटर्सले ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया’ अवार्ड जितेको हो । दुबईको पाम जुमेराहस्थित ताज रिसोर्टमा आयोजित सम्मेलनमा टीभीएसका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको थियो ।
‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ अवार्ड जगदम्बा मोटर्सले बिक्रीपछिको सेवामा गरेको उत्कृष्ट प्रदर्शन, दक्ष तथा तालिमप्राप्त प्राविधिक जनशक्ति, सक्कली पाटपुर्जाको उपलब्धता र ग्राहक सेवाका आधारमा प्राप्त गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी दिनमा दक्ष प्राविधिक जनशक्ति, सक्कली पाटपुर्जा र देशभर फैलिएको सेवा सञ्जालमार्फत बिक्रीपछिको सेवामा थप सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।
जगदम्बा मोटर्सले नेपालभर टीभीएसका दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधन बिक्री गर्दै आएको छ । कम्पनीले बिक्रीसँगै मर्मतसम्भार तथा सक्कली पाटपुर्जाको सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
सन् १९७९ मा स्थापना भएको शंकर समूहअन्तर्गत विभिन्न क्षेत्रमा ४० कम्पनी सञ्चालनमा छन् । समूहले १५ हजारभन्दा बढीलाई रोजगारी दिएको जनाएको छ ।
