काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् ।
शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको दाबी गर्दै मुलुक अब निर्वाचनतर्फ अघि बढेको बताएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्को आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा आज आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ । सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा होमिएका छन्, समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउँदैछन्, मुलुक निर्वाचनमा अगाडि बढीसकेको छ ।’
उनले नयाँ दलहरूबीच भएको एकता र सहकार्यले पनि निर्वाचनको माहोल सिर्जना गरेको बताए । मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढ्ने बताए ।

मन्त्री खरेलले निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरे । उनले भने, ‘राजनीतिक दललगायत सबै सरोकार भएका पक्षहरूलाई निर्वाचनको वातावरण निर्माणमा योगदान गर्न आग्रह गर्न चाहान्छु ।’ फरक प्रसङ्गमा मन्त्री खरेलले नेपाली मिडियाको डिजिटल रूपान्तरण आवश्यक रहेको बताए ।

FACEBOOK COMMENTS