काठमाडौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दी अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागले फरार रहेका कैदीबन्दीको नामावली सार्वजनिक गरेको छ ।
असोज २६ गतेको गृह मन्त्रीस्तरीय निर्णय अनुसार फरार कैदीबन्दीहरूको नामावली सार्वजनिक गर्दै फरार रहेका सबैलाई शीघ्र नियन्त्रणमा लिन निर्देशन दिइएको छ । फरार रहेकामध्ये ९ हजार ८ जना कैदीबन्दी कारागार फर्किसकेका छन् ।
विभागले फरार कैदीबन्दीहरूको नामावलीसहितको विवरण निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन, भूमि व्यवस्थापन, यातायात व्यवस्थापन, राहदानी, वैदेशिक रोजगार, श्रम र नापी विभाग लगायत ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाउने निर्णय गरेको छ ।
मन्त्रालयले फरार बन्दीहरूलाई खोजी, नियन्त्रण र पक्राउ गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ ।
फरार रहेका कैदीबन्दीको विवरण कारागार व्यवस्थापन विभाग र सबै जिल्ला प्रशासन कार्यालयहरूको वेबसाइटमा सार्वजनिक गरिएको छ । सेवाग्राही निकायहरूले फरार बन्दी सेवा लिन आएमा तत्काल कार्यदल र सुरक्षा निकायलाई खबर गरी पक्राउ गर्न सहयोग गर्नुपर्नेछ ।
FACEBOOK COMMENTS