काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कपिलवस्तु क्षेत्र ३ (२) बाट निर्वाचित सांसद जानकीप्रसाद यादवलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि लुम्बिनी प्रदेशसभाबाट स्वतः निलम्बन भएका छन् ।
राप्रपाबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद यादव निलम्बन गरेको प्रदेश सभाले जनाएको हो । कपिलवस्तुस्थित गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्यूफिट काठको २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा अपचलन गरेको भन्दै आयोगले फागुन ८ गते मुद्दा दायर गरेको हो ।
आयोगले लुम्बिनी प्रदेशका प्रदेश सांसद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा बिगो कायम गरी कैदसजायको मागदाबी सहित मुद्दा दायर भएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा गौतमबुद्ध साझेदारी वनमा ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरूसँग मिलेमतो गरेर बिक्री गरेको पाइएको छ । ८०३ वटा रुखहरू काट्दा त्यसबाट निस्किएको ३५ हजार ७ सय ७८ दशमलव १० क्यूफिट काठ र ४९.२३ क्विन्टल चट्टा दाउरा सङ्कलन गर्नुपर्नेमा नापजाँच मूल्याङ्कन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन सङ्कलन भएको देखाएर भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ ।
FACEBOOK COMMENTS