काठमाडौँ । मधेस प्रदेशको राजधानी जनकपुरधाम अन्य दिनको तुलनामा आइतबार अस्तव्यस्त बनेको छ ।
छठ पर्वको मुख्य दिन आज ‘सँझुका अर्घ्य’ परेकाले बजारमा अत्यधिक भीड बढ्दा अस्तव्यस्त बनेको हो ।
बजारमा मानिस र सवारीसाधनको अत्यधिक भीड बढे पनि ट्राफिक प्रहरीले व्यवस्थापन गर्न सकेको छैन । सहरका मुख्य चोकमा अत्यधिक भीड देखिएको छ । पोखरी घाटहरूमा जाने बजारका मूल सडकहरू पनि बिहानैदेखि भरिभराउ हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख चन्द्रभुषण यादवले नगरभित्रका पोखरी घाटहरूलाई बढी केन्द्रित गरेर जनशक्ति परिचालन गरिएकाले सडकमा बढेको भिडभाड व्यवस्थापन गर्न समस्या भएको जानकारी दिए ।
उनले नेपाल प्रहरीसँग समन्वय गरेर नियमित ड्युटीबाहेक नगरभित्र १५ ट्राफिक प्रहरी खटाइएको बताए । उता, छठ पर्वमा हुनसक्ने सम्भावित घटनालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले पनि नगरभित्र म्यादी र जनपद गरी चार सय प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।
FACEBOOK COMMENTS