काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेसँगै नियन्त्रणका लागि छलफल थालेको बताएका छन् ।
ललितपुर उद्योग बाणिज्य संघको ५५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताएका हुन् ।
‘बैंकले आफुखुशी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सिमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु,’ उनले भने, ‘राष्ट्र बैंकलाई उत्पादनमुलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न हुँदैन पनि भनेको छु ।’ चाँडै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यमार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास मन्त्री शर्माले दिलाएका छन् ।
त्यस्तै उनले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृङ्खलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको पनि बताएका छन् । ‘शोधानान्तर स्थितिमा सुधार हुँदैछ । हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौं,’ उनले भने । ४७ वटा वस्तुको आयातमा मार्जिन लगाएपछि कुल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने अर्थमन्त्री शर्माको भनाइ छ ।
FACEBOOK COMMENTS