काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले बजेटको आलोचना गर्दै ठूला कुर्सीलाई मात्र बजेटमा महत्त्व दिइएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका शर्माले बजेट ठूला कुर्सीमा मात्र केन्द्रित भएको भन्दै मन्त्रीहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याइएको आरोप लगाए ।
उनले भने, ‘यो बजेटले देशको यथार्थतालाई सम्बोधन गरेको छैन । यो बजेटले ठूला कु्र्सी मात्रै देख्यो । ठूला कुर्सी देख्यो, ठूला कुर्सीलाई मात्रै बजेट हाल्यो । अन्त त यसो चारो छरेको त हो । मुख्य बजेट ठूला कुर्सीहरूमा केन्द्रित भएको छ ।’
साथै, नेता शर्माले सरकारले गणेशमान सिंहको अपमान गर्ने गरी बजेटको दुरुपयोग गरिएको आरोपसमेत लगाए ।
उनले औद्योगिकीकरण गरेर प्रतिस्पर्धात्मक क्षेत्रमा लगानी गरी लाभ लिनुपर्नेमा त्यसो गर्न नसकेको, स्वास्थ्य बीमा राम्रोसँग कार्यान्वयन हुन नसकेको, गरिबले उपचार गर्ने अवस्था नभएको, रोजगारको समस्या विकराल हुँदै गएको भन्दै यी क्षेत्रमा बजेटले सरोकार नराखेको टिप्पणी गरे ।

