काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पूर्वका उद्योगी, व्यवसायीसँग भेट गरेका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक बर्ष ०७९–८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मासमक्ष गुनासो व्यक्त गरेका थिए ।
त्यस क्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुकभित्रै औद्योगीकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए । ‘बजेटमार्फत हाम्रो उद्देश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन,’ मन्त्री शर्माले भने, ‘हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याइएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’
आम महिला वर्गलाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छूट उपलब्ध गराएको र यस्तो छूटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको पनि उनले व्यवसायीसमक्ष प्रतिबद्धता व्यक्त गरेका छन् । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको अर्थमन्त्रीको दाबी छ ।
बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उनले प्रष्ट पार्दै उनले भने, ‘बजेट तपाईहरू (व्यवसायी) का लागि गरेको हो । देशका लागि गरेको हो । हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेको हो ।’
छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नवीन रिजालले वायर, घिउतेल तथा स्यानीटरी उद्योगमा बजेटले पारेको प्रभावका विषयमा छोटो प्रस्तुती दिएका थिए । उनले सरकारी नीति आउँदा आत्मसाथ गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । ‘हामी (व्यवसायी) लाई पनि पोलिसीले साथ दिनुस् । हामीले पनि बजेट आउँदा मुक्तकण्ठले प्रशंसा गर्ने स्थिति आओस्,’ अध्यक्ष रिजालले भने ।
FACEBOOK COMMENTS