काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडेको आरोप लगाएका छन् ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आइतबार बोल्दै प्रचण्डले संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडेको आरोप लगाउदै वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकताका कारण पार्टीलाई ठूलो नोक्सान भएको बताएका छन् ।
शर्माले प्रचण्डकै कारणले २०६४ सालमा प्राप्त गरेको जनमत गुमेको भन्दै त्यो कसरी फिर्ता गर्ने भन्दै प्रश्न समेत गरेका थिए । बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार उपमहासचिव शर्माले आफू आत्मालोचना गर्न तयार रहेको तर पार्टीको अहिलेको अवस्थाका लागि जिम्मेवारी लिन प्रचण्ड पनि तयार हुनुपर्ने बताएका थिए ।
शुक्रबारदेखि सुरू भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले शर्माले सार्वजनिक मन्चमा पार्टीको विषय बोलेको भन्दै आत्मालोचना गर्न र पार्टीका बैठकमा धारणा राख्न पनि सुझाव दिएका थिए । प्रचण्डले बैठकमा भनेका थिए, ‘जनार्दनजीले बाहिर बोल्नु राम्रो हुँदैन, पार्टीको विधि र पद्धतिभित्र रहनुपर्छ । पार्टीभित्र नेतृत्वको विरोध गर्न पाइन्छ । महाधिवेशन गरौं, केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राखौं । अन्य कमरेडले पनि आफ्नो कुरा पार्टीभित्रै राखौं ।’
माओवादी केन्द्रभित्र पछिल्ला दिनहरूमा जारी बहसले आन्तरिक विवाद सतहमा आएको छ । अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच चलेको विवादले आन्तरिक विवादलाई सतहमा ल्याएको छ ।
FACEBOOK COMMENTS