काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका साहसहितलाई प्रवेश गराएका हुन् । यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्व उपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
अध्यक्ष ओलीले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै गलत बाटो देखाउनेहरुको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आएकोमा धन्यवाद दिए । उनले भने हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौ । अपराध सोचेर बस्नेहरूको जञ्जालबाट तपाईहरु मुक्त हुनुभएको छ । उनले भने हामी एमालेको ठुलो परिवार भएर लागौ । मिलेर देश बनाउँ । गलत काम नगरौ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुन नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भने अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएको छ ।
खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिर बाहिर बोल्नुभएको छ ।
पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं ।
कार्यक्रममा नेता उपेन्द्र साहले प्रभु साह नेतृत्वको आजपाले जनताको लागि काम गर्छ भन्नु भ्रम रहेको अनुभव लिएर जनताको पार्टी एमाले नै आफ्नो गन्तव्य भएको बताए ।
FACEBOOK COMMENTS