काठमाडौं । जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको गठबन्धनले शानदार बहुमत हासिल गरेको छ ।
आइतबार भएको निर्वाचनमा तकाइचीको पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ४६५ सदस्यीय जापानको तल्लो सदनमा ३१६ सिट जितेको छ । त्यस्तै एलडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ । जापानमा ४६५ मध्ये २८९ प्रत्यक्ष र १७६ सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ ।
ताकाइचीले जनादेश लिने गरेको निर्णयमा मतदाताले साथ दिँदै उनले ओरालो लागेको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई भारी बहुमत दिएर पुनर्जीवित गरेकी छन् ।
दोस्रो विश्वयुद्धपछिको इतिहासमा पहिलो पटक कुनै एक दलले दुई–तिहाइ बहुमत हासिल गरेको यो ऐतिहासिक नतिजा हो । सत्तारूढ गठबन्धनले कुल मिलाएर ३५२ सिट जितेको छ।
प्रधानमन्त्री ताकाइचीले कठ्यांग्रिने चिसो र हिउँले ढाकिएका बाटो पार गर्दै मतदान गर्न पुगेका मतदाताप्रति आभार व्यक्त गर्दै भनिन्, ‘चिसो मौसम र हिउँले भरिएका सडक पार गरेर मतदान गर्न आउनु भएका सबै मतदाताप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु ।’ उनले जिम्मेवार र सक्रिय वित्तीय नीतिको वकालत गर्दै आएको उल्लेख गर्दै मतदाताबाट स्पष्ट जनादेश चाहेको बताइन् । उनले भनिन्, ‘आर्थिक र वित्तीय नीतिमा ठूला परिवर्तन ल्याउने जिम्मेवार तथा सक्रिय नीति अघि बढाउन मैले जनताको जनादेश चाहेको थिएँ ।’

यस निर्वाचन परिणामले प्रधानमन्त्री ताकाइचीको राजनीतिक पकड थप बलियो बनाएको विश्लेषकहरूले बताएका छन् । आगामी दिनमा जापानको आर्थिक र वित्तीय नीतिमा महत्वपूर्ण परिवर्तन देखिन सक्ने संकेत पनि दिएको छ ।

FACEBOOK COMMENTS