काठमाडौँ । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने निर्णय गरेका छन् । जापानी मिडिया एनएचकेका अनुसार सत्तारुढ लिबरल डेमोक्रेटिक (एलडिपी) पार्टी भित्र विभाजन हुनबाट जोगिन इशिबाले यो कदम चालेको बताइएको छ ।
उनको गठबन्धन सरकारले जुलाईमा भएको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) को चुनाव हारेको थियो । इशिबाले हालै यसको लागि माफी मागेका छन् र राजीनामा दिने निर्णय गर्ने बताएका छन् ।
इशिबाको नेतृत्वमा रहेको एलडिपी–कोमेइटो गठबन्धनले जुलाई २०२५ मा भएको चुनावमा लज्जास्पद हार बेहोर्नुपरेको थियो । गठबन्धनले ५० सिटको लक्ष्य राखेको थियो, तर ४७ सिट मात्र जित्न सकेको थियो
जसका कारण उनको सरकारले दुवै सदनमा बहुमत गुमाएको थियो । यो जापानी राजनीतिमा ऐतिहासिक धक्का थियो ।
चुनावी हारपछि, एलडीपी भित्र इशिबा हटाउने अभियान चलेको थियो । केही पार्टी नेता र सांसदहरूले उनको नेतृत्वमाथि प्रश्न उठाउदै उनलाई हटाउने अभियान चलाएका थिए, जसले उनको स्थिति कमजोर
बनायो । इशिबाले पार्टीमा एकता कायम राख्न राजीनामा दिने निर्णय गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
इशिबाले हालै अमेरिकासँग व्यापार सम्झौता गरेका छन् जसले जापानी अटोमोबाइलमा लाग्ने कर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत बनाएको छ । यो सम्झौतालाई लगानीकर्ताहरूले स्वागत गरेका थिए , तर यसले उनलाई आफ्नो पद जोगाउन भने सकेन ।
FACEBOOK COMMENTS