काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
उनका अनुसार पार्टीको नेपाल संसदीय दलको बैठकले वर्तमान सरकारलाई असफल ठहर गर्दै समर्थन फिर्ता गर्ने र अबदेखि प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
जसपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुका साथै ओली नेतृत्वको सरकारले गर्न नसकेका ११ बुँदे असफलता सार्वजनिक गरेको छ ।
जसपाका अनुसार सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन नसकेको, भ्रष्टाचार, अनियमितता, दण्डहीनता र कमिसनतन्त्र नियन्त्रण गर्न नसकेको, मुलुकको अर्थतन्त्र सुधार्न र आर्थिक विकासको गति अगाडि बढाउन नसकेको आरोप छ । त्यस्तै संघीयता कार्यान्वयनमा ठोस प्रयास नभएको, कृषि, उद्योग, पर्यटन र जलस्रोत विकास गर्न नसकेको, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता सेवा प्रवाहमा गुणात्मक सुधार गर्न नसकेको पनि पार्टीको निष्कर्ष छ ।
जसपाले मधेशी, आदिवासी जनजाति, दलित, महिला, थारू, अल्पसंख्यक लगायतका उत्पीडित समुदायका समस्या समाधान गर्न नसकेको, आन्दोलनका क्रममा झूठा मुद्दा लगाएर थुनिएका बन्दीहरूलाई रिहा नगरेको, संविधान संशोधनमा कुनै प्रयास नगरेको, किसानलाई मलखाद्य, सिंचाइ, बीउविजन, किटनाशक औषधी र सहुलियत ऋण उपलब्ध गराउन नसकेको र बेरोजगारी समाधानका लागि रोजगारीका अवसर सृजना गर्न नसकेको जस्ता कमजोरीहरू औंल्याएको छ ।
जसपाले यी सबै कारणले सरकार असफल भइसकेको भन्दै समर्थनको कुनै औचित्य नरहेको स्पष्ट पार्दै समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको जनाएको छ ।
FACEBOOK COMMENTS