काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उपप्रधानमन्त्री तथा आर्थिक विकास मन्त्री युलिया स्वीरिडेन्कोलाई देशको नयाँ प्रधानमन्त्री बनाउन सिफारिस गरेका छन्।
स्वीरिडेन्कोले २०२० देखि प्रधानमन्त्री डेनिस श्मिहालको सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी हुन्। जेलेन्स्कीले सरकारमा नवीकरणको आवश्यकता औँल्याउँदै स्वीरिडेन्कोलाई अघि सारेका हुन्। प्रधानमन्त्रीको रूपमा उनको नियुक्ति संसदको स्वीकृतिमा निर्भर रहनेछ।
हाल सत्तारूढ दल ‘सर्भेन्ट अफ द पिपल’सँग ४५० सदस्यीय संसदमा पूर्ण बहुमत रहेकोले स्वीकृति सहज हुने अनुमान छ। यद्यपि विपक्षी दलहरूले उपप्रधानमन्त्रीलाई नै प्रधानमन्त्री बनाउनु नयाँ कुरा नभएको भन्दै आलोचना गरेका छन्। उनीहरूले जेलेन्स्कीले आफ्नै शक्तिलाई मजबुत बनाउन यस्तो कदम चालेको आरोप पनि लगाएका छन्।
स्वीरिडेन्कोले आर्थिक विकास मन्त्रालय सम्हाल्दै गर्दा युक्रेन र ट्रम्प प्रशासनबीच दुर्लभ पृथ्वी सामग्री सम्बन्धी ठूलो सम्झौता भएको थियो। यो सम्झौताअन्तर्गत ग्रेफाइट, युरेनियम, टाइटेनियम, लिथियमजस्ता बहुमूल्य खनिज अमेरिका निर्यात हुनेछन्।
युक्रेन र रुसबीचको युद्ध भने अझै जारी छ। सन् २०२२ फेब्रुअरीदेखि चलेको युद्धमा हजारौं मानिसले ज्यान गुमाइसकेका छन् भने अन्तर्राष्ट्रिय सहयोग जुटाउन जेलेन्स्की निरन्तर प्रयासरत छन्। नयाँ प्रधानमन्त्रीले युद्धकालीन अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न ठूलो चुनौती सामना गर्नुपर्नेछ।
FACEBOOK COMMENTS