काठमाडौं । अनमोल केसीको फिल्म ‘जेरी अन टप’ले घरेलु बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक १५ गते शनिबारसम्मको आधिकारिक ग्रस कमाइमा ‘जेरी अन टप’ले देशभर १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ ग्रस कमाइ गरेको हो । सो अवधिमा यो फिल्मको ३ लाख ३३ हजार ६०५ वटा टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ ।
निर्माण पक्षले भने रिलिजको १५ दिनमा फिल्मले विश्वभर १५ करोड रुपैयाँ कमाइ गरेको दाबी गरेको छ । फिल्मलाई दर्शकले रुचाएका कारण अहिले पनि देशभरका कैयौं हलमा हाउसफुलका साथ चलिरहेको दाबी गरिएको छ ।
सुयोग गुरुङ निर्देशित एड्भेन्चर–लभस्टोरी जनराको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरुङले मुख्य अभिनय गरेका छन् । साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायतको अभिनय छ ।
त्यस्तै, हाल प्रदर्शनमा रहेको फिल्म ‘वरिष्ठ बलराम’ले २ करोड ४८ लाख ३० हजार ४८८ ग्रस कमाइ गरेको छ । त्यसैगरी, फिल्म ‘मैझारो’ले एक करोड ९५ हजार ३०९ र फिल्म ‘सोल्टिनी’ले २८ लाख ८० हजार १५६ ग्रस कमाइ गरेको बोर्डले जानकारी दिएको छ ।

बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार कार्तिक १५ गतेसम्म दशैंमा रिलिज भएको फिल्म ‘बलिदान’ले ५ करोड १० लाख ३४ हजार ८०२ ग्रस कमाइ गरेको छ भने ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ७१ लाख ३७ हजार ६८७ ग्रस कमाइ गरेको छ । त्यस्तै, फिल्म ‘माइतीघर’ले ४ करोड १५ लाख ५१ हजार ८८८ कमाइ गरेको छ

FACEBOOK COMMENTS