 
			                  			              
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को निमन्त्रणामा चीन प्रस्थान गरेका छन् । बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी हुन नेता खनाल चीन प्रस्थान गरेका हुन् ।
खनालको सचिवालयका अनुसार भ्रमणका क्रममा उनले बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि हेनान प्रान्तको तीनदिने भ्रमण गर्ने छन् । सो क्रममा उनले त्यहाँका आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमुना परियोजनाहरूको अवलोकन गर्ने छन् ।
त्यसपछि नेता खानालले बेइजिङमा जुलाई १० मा दुईवटा महत्त्वपूर्ण सत्रलाई सम्बोधन गर्ने छन् । पहिलो, उनले ‘मन्त्रीस्तरीय विश्व सभ्यता संवाद’ को पूर्ण सत्रको तेस्रो खण्ड, ‘मानवताका साझा मूल्यहरूको संयुक्त प्रवर्द्धन’ लाई पहिलो वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन उनले ‘सभ्यताहरूको आदानप्रदान, पारस्परिक सिकाइ र प्राज्ञिक संवाद’ शीर्षकको छैठौं उपमञ्चको उद्घाटन समारोहमा पनि प्रमुख वक्ताको रूपमा मन्तव्य राख्ने छन् ।
बेइजिङ बसाइका क्रममा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ झियानचाओलगायत अन्य शीर्ष चिनियाँ नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकबाट आएका पूर्वप्रधानमन्त्री, मन्त्री, विज्ञ तथा प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेता खनाल असार २७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS