काठमाडौंं । काठमाडौँ जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते भइन् । गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृत्युको मुखमा पुगेका थिए ।
आफूलाई माता बताउने एक किशोरीले झारफुकका नाममा एक बिरामी महिलालाई तातो वस्तु (खुकुरी, पन्युँ, तेल तथा पानी)ले डामेरपोलेपछि गम्भीर घाइते भइन् । काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुक गर्ने माता बताउने १९ वर्षीया सचिता मगरले बिरामीको शरीरमा तातो पन्युँ, तातो तेल र पानी खन्याउँदा भोजपुर आमचोक गाउँपालिका–६ की ३६ वर्षीया सविता राईको जीउभरि घाउ र फोकाका कारण सिकिस्तै भइन् ।
प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक नवीन विष्टले नेपाल प्रहरी अस्पतालमा बिरामी राईको उपचार भइरहेको र अवस्था गम्भीर रहेको जानकारी दिए । प्रहरीले किशोरी मातासहित सहयोगी चार जनालाई पक्राउ गरी कुटपिट तथा अङ्गभङ्गसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उक्त घटनामा संलग्न मातासहित उनका सहयोगी उदयपुर घर भएका २६ वर्षीय पदमबहादुर मगर, २६ वर्षीय सङ्गम राई, १८ वर्षका सागर मगर र चितवन घर भएका १८ वर्षीय अजित तामाङ पक्राउ परेका छन् ।
उपरीक्षक विष्टका अनुसार शरीर काप्ने, बर्बराउने तथा छटपटी हुने समस्याबाट पीडित सविता राईलाई किशोरी माताले निको पारिदिने दाबी गर्दै झारफुक गरिएको थियो । पुस १ गते झारफुकका क्रममा बिरामीको शरीरमा तातो वस्तु खन्याइएको थियो । अर्घाखाँची घर भएकी सचिता र भोजपुरकी सविता दुवै जरङ्खुमा बस्दै आएका थिए । पक्राउ परेकी किशोरी माताले बिरामीलाई निको पार्ने भनी आफूले तातो वस्तु बिरामीको शरीरमा खन्याएको स्वीकार गरेको प्रहरीले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS