काठमाडौं । अभिनेत्री जो साल्दाना हलिउडको सबैभन्दा धेरै कमाउने अभिनेत्री बनेकी छिन् । यो उपलब्धि उनको फिल्म अवतारस् फायर एण्ड एशेजको बक्स अफिस सफलता पछि आएको हो ।
बक्स अफिस ट्र्याकिङ वेबसाइट ‘नम्बर्स’ का अनुसार, साल्दाना अभिनित ३३ फिल्मबाट १५.४६ बिलियन अमेरिकी डलर कमाइसकेका छन्, जसको अर्थ उनले अभिनय गरेका प्रत्येक फिल्मबाट लगभग ४६९ मिलियन अमेरिकी डलर कमाई गरेका छन् ।
जो साल्दानाले २०२५ मा फिल्म ‘एमिलिया पेरेज’ मा अभिनयको लागि पहिलो ओस्कार जितेकी थिइन् । धेरै फिल्महरूमा उनको हालैको कामले उनलाई यो रेकर्ड हासिल गर्न मद्दत गरेको छ । उनका सफल फिल्महरूमा अवतार (२००९), अवतारस् द वे अफ वाटर (२०२२), र एभेन्जर्सस् इन्फिनिटी वार (२०१८) समावेश छन् ।
अभिनेत्री स्कारलेट जोहानसन यस सूचीमा दोस्रो स्थानमा छिन् । उनका ३६ फिल्मले १५.४० बिलियन अमेरिकी डलर कमाइ गरेका छन् । गत वर्ष, स्कारलेट जोहानसन ‘जुरासिक वर्ल्ड रिबर्थ’ ले विश्वव्यापी रूपमा ८६९ मिलियन अमेरिकी डलर कमाएपछि शीर्ष स्थानमा पुगेकी थिइन् ।
यस सूचीमा तेस्रो स्थानमा स्यामुएल एल ज्याक्सन छन् । शीर्ष १० मा परेका अन्य स्टारहरूमा रोबर्ट डाउनी जूनियर, क्रिस प्रेट, टम क्रुज, क्रिस हेम्सवर्थ, भिन डिजेल, क्रिस इभान्स र ड्वेन जोनसन रहेका छन् ।

FACEBOOK COMMENTS