डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक
कर्पोरट खबर
9:17 am, शनिबार, माघ १०, २०८२
काठमाडौं । डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक सार्वजनिक गरिएको छ ।
सेन्टर फर मिडिया रिसर्च नेपाल र जर्नलिजम एकेडेमीले शुक्रबार आयोजना गरेको कार्यक्रममा डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचका साथै डिजिटल परिदृश्य पुस्तक विमोचन गरिएको हो ।
डिजिटल युगमा पत्रकारिता पुस्तक जर्मनीका पत्रकारहरु स्टेफान मोल र तन्जिभ शुल्जले लेख्नु भएको हो । जर्मन भाषामा लेखिएको सो पुस्तकलाई लक्ष्मण श्रेष्ठ, तिलक पाठक र उज्ज्वल आचार्यले नेपाली भाषामा अनुवाद एवं सम्पादन गर्नु भएको हो ।
पुस्तकमा डिजिटलाइजेसनको युगमा मिडिया र पत्रकारिता, पत्रकारिताका शैली, सम्पादकीय व्यवस्थापन, सम्पादकीय जिम्मेवारी, पत्रकारिताको गुणस्तर लगायतका पक्षमा बहुआयामिक ढंगले चर्चा गरिएको छ ।
उज्ज्वल आचार्य र उमेश श्रेष्ठले लेख्नु भएको मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी पुस्तकमा मिथ्या सूचना, मिथ्या सूचनाको प्रतिकार, तथ्यजाँच प्रकृया, मिडिया साक्षरतालगायतका विषय समावेश गरिएको छ ।
डिजिटल परिदृश्य पुस्तक पत्रकार तथा त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक ऋषिकेश दाहालले लेखेका हुन् । यो पुस्तकमा प्रतिमान परिवर्तनमा पत्रकारिता, अनलाइन समाचारको मूल्य, डिजिटल मिडिया र पत्रकारिता, युट्युबमा सम्पादकहरुको यात्रा, समाचारमा प्रतिलिपि अधिकारसहितका विषयलाई केलाइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सोसल मिडियामा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै निर्वाचनमा हुन सक्ने मिथ्या सूचनाप्रति सजग हुन जरुरी रहेको बताउनुभयो ।
वरिष्ठ पत्रकार प्रतीक प्रधानले प्रविधि, सोसल मिडिया र नागरिक पत्रकारिताका कारण पत्रकारितामा चुनौती थपिएको र पत्रकारिताले विश्वास जगाउन सक्ने पर्ने धारणा व्यक्त गर्नुभयो ।
डिजिटल युगमा पत्रकारिताका लेखक स्टेफान मोलले विज्ञापन इन्टरनेटमा आधारित मिडियामा केन्द्रित हुँदै गइरहेको र पत्रकारहरु मिथ्या सूचना विरुद्ध लड्नु पर्ने भएकाले पत्रकारितामा चुनौती थपिएको बताउनुभयो ।
सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष नविन खतिवडाले नेपालमा निर्वाचनका बेला मिथ्या सूचनालाई न्यूनीकरण गरी सत्यलाई स्थापित गर्न आवश्यक रहेको बताउनु भएको थियो ।
FACEBOOK COMMENTS