काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरुलाई नगदसहित सम्मान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको रपोर्टिङको क्रममा घाइते पत्रकारलाई सम्मान गरेको हो । मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चार जना घाइते पत्रकारहरुलाई सम्मान गरे ।
कार्यक्रममा स्वतन्त्र पत्रकार शम्भु दाहाललाई एक लाख नगद तथा सम्मान, श्याम श्रेष्ठ–कान्तिपुर टेलिभिजन, उमेश कार्की–नेपाल प्रेस, तथा दीपेन्द्र ढुङ्गाना- नयाँ पत्रिकालाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
त्यस अवसरमा सञ्चारमन्त्री खरेलले देश र जनताको पक्षमा जोखिम उठाएर कामगर्ने पत्रकारको योगदानको उच्च कदर गर्दै राज्यकोतर्फबाट सम्मान गरिएको उल्लेख गरे । उनले विभिन्न आन्दोलन लगायतका कार्यक्रमहरूमा अग्रपङ्क्तिमा परिचालन हुने पत्रकारहरूको सुरक्षाको लागि सरकार, आन्दोलनरत पक्ष वा आयोजक तथा सञ्चार गृह जिम्मेवार र उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री खरेलले आन्दोलनका क्रममा गम्भीर घाइते भएका पत्रकारहरूको उपचार खर्च राज्यले बेहोर्ने बताउदै घाइते पत्रकारहरुलाई निरन्तर सम्पर्कमा रहन आग्रह समेत गरे । उनले भने,“राज्यले तपाईंहरुको उपचार खर्च व्यहोर्नुपर्छ, व्यहोर्छ । मैले त्यतिबेला पनि भनेको थिएँ । आज पनि भन्छु । यत्रो दुनियाँको खर्च व्यहोरिरहेको सरकारले तपाईंको किन नव्यहोर्ने ? तर यसमा मिसइन्फरमेसन चाहिँ नहोस् । सरकारले वास्ता गरेन हैन, गर्छ । तर सम्पर्क त हुनुपर्यो ।”

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा सञ्चार क्षेत्रमा करिब ७८ करोडको क्षति भएको उल्लेख गर्दै त्यसको पुनस्र्थापना कसरी गर्ने भन्नेमा आफू चिन्तित रहेको बताए ।

बिहीबारदेखि सरकारले गोरखापत्र संस्थानका पत्रकारहरूलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन शुरु भएको जानकारी दिँदै मन्त्री खरेलले छिट्टै रेडियो नेपाल नेपाल, नेपाल टेलिभिजन तथा रासस लगायतका निकायका पत्रकारहरूलाई पनि सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने बताए ।

मन्त्री खरेलले नीजि क्षेत्रका सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षाको योजनामा समेट्ने गरी अभियान नै सञ्चालन गर्न तथा बेरोजगार घाइते पत्रकारहरूको रोजगारीको व्यवस्था गर्ने गरी क्रियाशील हुन नेपाल पत्रकार महासङ्घलाई आग्रह गरे । सञ्चारमन्त्री खरेलले घाइते पत्रकारले चाहेको खण्डमा उचित रोजगारीको व्यवस्थापन पत्रकार महासंघले गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले सरकारले पत्रकारहरूको कामको सम्मान गरेको भन्दै खुशी व्यक्त गरे ।
सम्मानीतमध्येबाट पत्रकार सम्भु दंगालले अग्रपङ्क्तिमा परिचालन हुने पत्रकारहरूको सुरक्षाको लागि सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने, पत्रकार सुरक्षा कोषको प्रबन्ध गर्नुपर्ने, पत्रकारहरूलाई सामाजिक सुरक्षाको योजनामा आवद्ध गर्नुपनमर्नेमा जोड दिए ।
पत्रकार दिपेन्द्र ढुङ्गानाले घाइते पत्रकारहरूलाई उपचार खर्च उपलब्ध गराउनुपर्ने तथा आगामी दिनमा अग्रपङ्तिमा खटिने पत्रकारको सुरक्षाका लागि नीतिगत सुधार गरिनुपर्ने खाँचो औंल्याए ।
FACEBOOK COMMENTS