काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले फागुन २१ हुने प्रतिनिधि सभाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा जसपा नेपालले न्यायपूर्ण सेवा, समान अवसर र पारदर्शी शासनमा जोड दिएको छ भने ’संघर्षसँगै समृद्धि’ नारा दिएको छ ।
जसपा नेपालले वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि नि:शुल्क (फ्रि भिसा र फ्रि टिकट) रोजगारी प्रदान गर्ने नीति अघि सर्दै वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको सुरक्षित रोजगारीको व्यवस्था गरिने, बैदेशिक रोजगारीमा गएका नागरिकहरूको सुरक्षाको प्रत्याभूति गरिने पनि घोषणा पत्रमा उल्लेख गरेको छ ।
त्यसै वैदेशिक रोजगारीबाट फर्केका नागरिकहरूको लागि वैदेशिक रोजगारमा हुँदा सिकेको सीपको आधारमा स्वदेशमै रोजगारीको प्रवन्ध गरिने नीति पनि अगाडी सारेको छ । घोषणापत्रमा भनिएको छ, ‘वैदेशिक रोजगारी रहर नभई बाध्यता हो । तसर्थ आन्तरिक रोजगारी प्रवद्र्धन गर्नु राज्यको मूल दायित्व हो भन्ने जसपा, नेपालको मान्यता रहँदै आएको छ । आन्तरिक रोजगारीको प्रत्याभूति नहुञ्जेलसम्म वैदेशिक रोजगारीमा जाने नागरिकहरूको लागि सीप विकास, प्रशिक्षण तथा रोजगारीमा जाँदा आवश्यक पर्ने लागत खर्चको उचित व्यवस्थापन रोजगारदाताबाट ग्यारेन्टी गरिनु पर्दछ ।’
घोषणापत्रमा लोक कल्याणकारी राज्यको स्थापना गर्दै समतामूलक समाजको निर्माण र समानतामा आधारित समावेशी समाजवादी लोकतान्त्रिक शासन प्रणाली स्थापित गर्ने मूल लक्ष्य जसपा नेपालले राखेको उल्लेख छ ।
