काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सोमबारसर्वोच्च अदालतमा सुनुवाइको पेसी तय भएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी तय भएको हो । यसअघि गत चैत ५ मा भएको सुनुवाइपछि न्यायाधीशहरू सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले आफूबाहेकको इजलासमा सोमबारका लागि सुनुवाइको पेसी तोक्न आदेश दिएको थियो ।
सोहीअनुसार, अहिले सुनुवाइको तयारी भइरहेको छ । सर्वोच्चको मागबमोजिम महान्यायाधिवक्ता कार्यालयबाट पेस भएको अघिल्लो निर्णय संशोधनसम्बन्धी फाइल पेस भएको छ । महान्यायाधिवक्ता सविता भण्डारीले माघ २ मा लामिछानेसहित अरू सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।
भण्डारीले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद लिएको थियो । भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुस बडाल र युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका हुन् ।
गत पुस ३० गते भण्डारीले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् । निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो ।

FACEBOOK COMMENTS