सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीचको छलफल आज (मंगलबार)पनि बिना निष्कर्ष टुंगिएको छ ।
सर्वोच्च अदालतको एनेक्स हलमा दुई घण्टा बढी चलेको छलफलमा न्यायाधीशहरुले सेवा प्रवाहको अवरोध धेरै लम्ब्याउन नसकिने धारणा बारका पदाधिकारीसँग राखेका छन् ।
बारका पदाधिकारीले भने कुनै हालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा बटमलाइन भएको बताउँदै आफ्ना कुरा राखेका थिए । यसमा न्यायाधीशहरुले आन्तरिक छलफल गर्ने जवाफ दिएको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । ‘हामीले यो यो कारणले प्रन्याले राजीनामा दिनुपर्छ भन्यौं । न्यायाधीशहरुले आन्तरिक छलफल गर्ने कुरा गर्नुभयो,’ उनले भनिन् ।
छलफलमा न्यायाधीशहरुले अहिलेको अवस्था प्रधानन्यायाधीश राणाकै कारण आएको, यसलाई समाधान गर्न गैरजिम्मेवार देखिएको भन्दै तर सेवा प्रवाहको अवरोध धेरै लम्ब्याउन हुँदैन भन्ने धारणा राखेका थिए । यद्यपि इजलासमा फर्किने वा नफर्किने, अब के गर्ने भन्ने स्पष्ट जवाफ दिएनन् ।
अहिले न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । बारका पदाधिकारीसँगको छलफलमा १३ न्यायाधीश सहभागी थिए । केही न्यायाधीशले भने छलफलमा अनुपस्थित भएर इजलासमा मुद्दा हेरेका छन् ।
FACEBOOK COMMENTS