काठमाडौं । पछिल्लो ७ वर्षमा जुट उत्पादन ६ हजार मेट्रिक टनले घटेको पाइएको छ । जुट उत्पादक किसानले लगानीअनुसार प्रतिफल पाउन छाडेपछि यसको खेती छाड्दै गएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको तथ्यांकले पछिल्ला वर्षमा नेपालमा जुट उत्पादन निरन्तर घटिरहेको देखाउँछ ।
मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा नेपालमा १६ हजार ५ सय ३० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७७/७८ आइपुग्दा उत्पादन ६ हजार ७९ मेट्रिक टनले घटेर १० हजार ४ सय ५१ टनमा सीमित भएको छ ।
यस अवधिमा जुट उत्पादन हुने जमीनको क्षेत्रफल पनि करीब ४ हजार हेक्टरले घटेको छ । आव २०७१/७२ मा ११ हजार ४ सय हेक्टर जमीनमा जुटखेती भएकोमा आव २०७७/७८ मा घटेर ७ हजार ४ सय १५ हेक्टरमा सीमित भएको तथ्यांकले देखाएको छ ।
जुट बाली अनुसन्धान केन्द्र इटहरीका विनोद गुप्ताले उत्पादन लागतअनुसार किसानले मूल्य नपाउने र अस्थिर मूल्यका कारण उत्पादन वर्षेनि घट्दै गएको जानकारी दिए । उनका अनुसार एक कट्ठा जमीनमा तीन मनसम्म जुट उत्पादन हुन्छ ।
यसको उत्पादन लागत १५ सय रुपैयाँसम्म पुग्छ । तर, किसानले जुट बेच्दा उत्पादन लागतअनुसार मूल्य पाउँदैनन् । जुट उद्योगीले किसानको उत्पादन लागतभन्दा निकै कम मूल्य तोक्ने गरेको उनले सुनाए । जुटको मूल्य सरकारले तोक्दैन ।
उद्योगीले उत्पादन धेरै भएको वर्ष प्रतिमन ७ सयदेखि १ हजार र उत्पादन कम भएको वर्ष १५ सय रुपैयाँसम्म मूल्य तोक्ने गरेको उनी बताउँछन् । नेपाली जुट उद्योगले कोलकाताका उद्योगको निर्देशनमा मूल्य तोक्ने परिपाटीले नेपाली जुट उत्पादक किसान मारमा परेको उनको बुझाइ रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS