काठमाडौँ । प्रथम चाबहिल ‘जुत्ता चप्पल व्यापार मेला–२०८०’ मा ३० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको भनाइ छ।
नेपाली जुत्ता चप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ता चप्पल व्यापार मेलामा फागुन ८ गतेसम्म ३० हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ता चप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ता चप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिए ।
मेला आयोजक सविन कार्कीले उद्योगी र उपभोक्ताहरू बिच सिधै जुत्ता चप्पल खरिद बिक्री भएको हुँदा उपभोक्ताले कम मूल्यमा गुणस्तरीय पाएको बताए। उनले भने हामीले डिलर,डिष्ट्रिब्युटर र फसललाई दिने कमिसन सबै उपभोक्तालाई दिएका छौ, आम उपभोत्ताहरुले मौकाको फाइदा उठाउन आह्वान गर्दछौँ।
नेपाल जुत्ता चप्पल उत्पादक सङ्घका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले चाबहिलमा पहिलो पटक जुत्ता चप्पल मेला आयोजना गरिएको बताए । मेलाको सुरुमा भन्दा अहिले उपभोक्ताहरूको भिड बढ्दै गइरहेको मेला संयोजक दिवकर गिरीले बताए।
जुत्ता चप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाईन राखिएको छ ।
उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रनशुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन् । फागुन १८ गतेसम्म चल्ने मेलामा रु तीन करोड बराबरको जुत्ता चप्पल विक्रि हुने लक्ष्य राखिएको छ । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिएको आयोजकले जनाएको छ ।
