काठमाडौं । देशका विभिन्न जिल्लामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ११० जनालाई पक्राउ गरेको छ । मंगलबारसम्म गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार काठमाडौंको बूढानीलकण्ठबाट १० जना, चितवनका तीन स्थानबाट १५ जना, धनकुटाबाट ७ जना, भक्तपुरका दुई स्थानबाट २४ जना र झापाका दुई स्थानबाट २२ जना पक्राउ परेका छन्।
त्यस्तै धनुषाबाट ५ जना, कपिलवस्तुबाट ४ जना, सर्लाहीका दुई स्थानबाट ११ जना, कञ्चनपुरबाट ६ जना र कास्कीबाट ६ जना पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूको साथबाट नगद तथा तास र कौडा बरामद गरिएको प्रहरीले जनाएको छ। सबैभन्दा बढी रकम चितवनको भरतपुरबाट बरामद भएको छ। त्यहाँ जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका सात जनाको साथबाट ३ लाख ३७ हजार ४८० रुपैयाँ बरामद गरिएको थियो।

प्रहरीले विभिन्न स्थानबाट पक्राउ परेकाहरूको साथबाट कुल ११ लाख ९२ हजार ९४१ रुपैयाँ नगद, तासका बुक र कौडा बरामद गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
