काठमाडौं । ज्योति विकास बैंकले काभ्रेको मङ्गलटार स्वास्थ्य चौकीलाई नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ ।
सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्ने उद्देश्यले बैंकले आफ्ना शाखा नहुने स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको छ । यो प्रयास बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित एउटा महत्त्वपूर्ण पहल हो ।
बेबी वार्मर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारीहरू तथा सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति थियो । साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत यो बेबी वार्मरसहित हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको छ । यी उपकरणहरूमार्फत हरेक वर्ष करिब २२९४ भन्दा बढी नेपाली शिशुहरूलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।
विशेषगरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै बैंकले उक्त मेसिन प्रदान गर्दै आएको छ । साथै, हालसम्मको योगदानले करिब ११४७० भन्दा बढी शिशुहरू प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएका छन् ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।
FACEBOOK COMMENTS