काठमाडौं । ज्योति विकास बैंकले मिति २०८१ चैत्र ४ देखि १० गतेसम्म मनाइएको ग्लोबल मनी विक २०२५ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले युवा तथा विद्यार्थीहरूलाई लक्षित गर्दै आफ्ना शाखा कार्यालयहरू मार्फत विद्यालय र कलेजहरूमा १५ भन्दा बढी तालिम सञ्चालन गरेको हो।
यी कार्यक्रमहरूमा आधुनिक बैंकिङ, वित्तीय अनुशासन, बचत, लगानी, विद्युतीय ठगी, नगदरहित कारोबार र धितोपत्र बजार जस्ता विषय समावेश गरिएका थिए। डिजिटल माध्यम र सामाजिक सञ्जाल मार्फत पनि सचेतनामूलक सामग्री प्रकाशन गरिएको बैंकले जनाएको छ। यस अभियानबाट १ हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका छन्।
बैंकले प्रभात फेरी जस्ता कार्यक्रम मार्फत पनि वित्तीय जानकारी प्रवाह गरेको थियो। यस्ता पहलले सानै उमेरदेखि वित्तीय साक्षरता प्रवर्द्धन गरी युवाहरूलाई सक्षम नागरिक बनाउने लक्ष्यमा योगदान पुगेको बैंकको विश्वास छ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध यस बैंकले आफ्नो मुनाफाको ठूलो हिस्सा सामाजिक कार्यमा लगानी गरेको छ। विशेषगरी, नवजात शिशुको जीवन रक्षाका लागि ५४ वटा न्यानो नानी मार्फत वार्षिक १९९८ भन्दा बढी शिशुको जीवन बचाउन सफल भएको छ। साथै, गत आर्थिक वर्षमा ४० करोड र चालु वर्षको पौष मसान्तसम्म १५ करोड कर तिरेर राष्ट्रप्रति आफ्नो दायित्व पूरा गरेको छ।
हाल बैंकले १२१ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ। आगामी दिनमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने अठोट बैंकले व्यक्त गरेको छ।
FACEBOOK COMMENTS