काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवर्द्धन र ग्राहकमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै इन्टरबैंक टेलर क्यूआर पेमेन्ट सेवा सञ्चालनमा ल्याएको छ ।
यस डिजिटल सेवाको माध्यमबाट अब ज्योति विकास बैंकमा खाता नभएका नागरिकले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ एपको प्रयोगबाट ज्योति विकास बैंकका जुनसुकै शाखामा गई नगद निकाल्न सक्नेछन् ।
ज्योति विकास बैंकका शाखाहरूमा रहेको क्यूआरलाई स्क्यान गरी नगद निकाल्न पाइने यस सुविधाले आमनागरिकलाई थप सहज हुने विश्वास बैंकको छ ।
यो सेवा उपयोग गर्न सेवाग्राहीको नेपालभित्रको जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग सम्बन्धित मोबाइल बैंकिङ सुविधा सक्रिय रहेको हुनुपर्छ । ज्योति विकास बैंकमै खाता हुनुपर्छ भन्ने छैन । यस भुक्तानी सेवा प्रयोग गर्नलाई ग्राहकले आफ्नो वैध परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्छ ।
एटीएम अथवा आफ्नो सम्बन्धित बैंकको शाखा पायक नपरेको अवस्थामा ज्योति विकास बैंकमा खाता नभए पनि यो सुविधा उपलब्ध हुने बताइएको छ । ज्योति विकास बैंकले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकको सुविधा, पहुँच र सन्तुष्टिमा केन्द्रित रही आधुनिक बैंकिङको दिशामा सार्थक कदम अघि बढाउने उद्देश्यले यो सेवा थप गरेको हो ।
बैंकले हालै मात्र सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) द्वारा अन्तर्राष्ट्रिय मान्यताप्राप्त आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था इन्टरसर्टले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि एक प्रसिद्ध अन्तर्राष्ट्रिय सर्टिफिकेसन हो । इन्टरसर्टले यस विकास बैंकको सूचना सुरक्षा उपायहरूलाई प्राविधिक रूपमा बलियो, समसामयिक र जोखिम व्यवस्थित रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।
बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित वित्तीय पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको छ । बैंकले विकास बैंकहरूमा पहिलोपटक भ्वाइस अडियो बक्स क्यूआर सेवा सुचारु गरी क्यूआर मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ ।
यसैगरी, बैंकले डिजिटल बैंकिङ र नगदरहित कारोबार प्रवर्द्धन गर्दै क्रस–बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ । ज्योति स्मार्ट एपमार्फत एटीएमबाट पैसा झिक्न सकिने कार्डलेस क्यास विथड्रल सेवा, चेकबिना नै काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी रकम झिक्न सकिने स्क्यान एन्ड विथड्र सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारु गर्न भिडियो केवाईसी सुविधालगायत थुप्रै आधुनिक बैंकिङ सेवाहरू बैंकले उपलब्ध गराउँदै आएको छ ।
यस बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६२ वटा न्यानो नानीमार्फत हरेक वर्ष २२९४ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जीवन रक्षण गर्ने अति प्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ । यस विकास बैंकले गएको आर्थिक वर्षमा ४१ करोड कर तिरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पनि गरेको छ ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS