काठमाडौं । पछिल्लो समय सांगितिक बजारमा चर्चा कमाउन सफल गीत ‘दुश्मन हेरेको हेर्यै’का सर्जक दुर्गेश थापालाई दाङको तुलसीपुरमा सञ्चालित ‘तुलसीपुर महोत्सव’ले ‘हेरेको हेर्यै’ पारेको छ ।
तुलसीपुर चेम्बर अफ कमर्सले यही फागुन १ गतेदेखि १६ गतेसम्म सञ्चालन गरेको महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आ–आफ्नो प्रस्तुति दिए । तर, प्रस्तुतिको सूचीमा रहेर पनि गायक तथा मोडल दुर्गेश थापाले भने आफ्नो प्रस्तुति दिन पाएनन् । उनलाई बोलाइएकै दिन महोत्सव समापन गरेर आयोजकले उनलाई ‘हेरेको हेर्यै’ पारेको हो ।
आयोजकले अकस्मात महोत्सव समापन गरेका कारण प्रस्तुतिका लागि दाङ जान नपाएका दुर्गेशले दोषजति सबै गायिका ज्योति मगरमाथि थोपरेका छन् । ज्योति मगरकै रणनीति र राजनीतिले गर्दा तुलसीपुर महोत्सव अकस्मात समापन भएको र आफूले प्रस्तुति दिन नपाएको गुनासो दुर्गेशको छ । ज्योति मगरलाई लक्षित गरी गायक थापाले लेखेका छन्, ‘केही व्यक्तिहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन् । कोही कलाकारले हेलिकोप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनुभएछ । उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो । हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ !’
फेसबुकमा लामो स्टाटस लेखेर ज्योति मगरलगायत कलाकारलाई गाली र चुनौती दिँदै दुर्गेशले भनेका छन्, ‘हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला । तर, दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकालालले मेटाउन सक्दैन ! मलाई हेलिकोप्टर चढ्ने या देखाउने रहर छैन । दुर्गेश थापा नाम मात्र होइन ब्राण्ड हो, यो ब्राण्ड देखेर जल्नेहरू जलिरहून् । म आफ्नो नामको ब्राण्ड बनाउँदै जान्छु ।’
खासगरी तुलसीपुर चेम्बर अफ कमर्सले महोत्सव सञ्चालनका लागि फागुन १ देखि १६ गतेसम्मको अनुमति लिएको थियो । तर, आयोजकले १७ गते पनि महोत्सव जारी राखेपछि जिल्ला प्रशासन कार्यालय दाङले तुरुन्त रोक्न वा समापन गर्न निर्देशन दियो र महोत्सव अकस्मात समापन भयो । यसकारण दुर्गेशले सो महोत्सवमा आफ्नो प्रस्तुति दिन पाएनन् ।
दुर्गेशले प्रस्तुति दिन नपाउने भएपछि गायिका ज्योति मगरले आफ्नो फेसबुकमा व्यङ्ग्यात्मक धारणा सार्वजनिक गरिन् र दुर्गेशको पछिल्लो रबाफलाई खिसिट्युरीको विषय बनाइन् । ‘आज दाङको तुलसीपुर महोत्सवमा चर्चित कलाकार दुर्गेश थापा भाइको हेलिकोप्टर उड्यो कि उडेन ? हल्लाखल्ला सुनिएन त कतै… । कमेन्टमा खबर गरुम त दङ्गाली सञ्चार माध्यमहरू…। दुश्मन हेरेको हेर्यै होइन, दुश्मन पर्खेको पख्र्यै थिए रे भन्ने हल्ला पो आयो त कता कता…,’ ज्योतिले फेसबुकमा लेखेकी थिइन् ।
FACEBOOK COMMENTS