काठमाडौं । ज्योति विकास बैंकले ई-नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रीडी प्रिन्टेड कृत्रिम हात प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले उक्त कार्य गरेको हो ।
ई-नेबल नेपालको कार्यालय परिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकले ती कृत्रिम हातहरू ६ जना आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको छ । प्रदान गरिएका कृत्रिम हातहरूले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुका साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ । हालसम्म बैंकले यस्ता कृतिम हातहरू २६ जना बालबालिकालाई प्रदान गरी उनीहरूको जीवन रूपान्तरण गर्न सहयोग गरिसकेको छ ।
ज्योति विकास बैंकले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा ई-नेबल नेपालसँग सहकार्य गरी १६ जना बालबालिकाका लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो । उक्त सहकार्य सम्झौताअनुरूप पहिलो चरणमा जम्मा ६ जना बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गरिएको छ । थ्रीडी प्रविधि प्रयोग गरी बनाइएका कृत्रिम हातहरू हलुका हुनुका साथै औंलाहरू चलाउन पनि मिल्ने तवरले इञ्जिनियरिङ गरिएको छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।g
FACEBOOK COMMENTS