काठमाडौँ । धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिरसमेत निर्यात हुन थालेको छ ।
जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रहेकामा उक्त परिमाणभन्दा बढी बीउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।
“बर्खे धानखेती गरिने क्षेत्रफल र गहुँको उन्नत बीउ उत्पादनको हकमा कैलाली जिल्ला देशमै पहिलो स्थानमा छ”, ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, “पछिल्ला वर्षमा धान र गहुँको बीउ उत्पादनमा आत्मनिर्भर भई अन्य जिल्लामा निर्यात हुन थालेको छ ।”
जिल्लाको झण्डै एक हजार हेक्टरमा चैते धानखेती र झण्डै ७१ हजार सात सय हेक्टर जग्गामा वर्षे धानखेती गरेर वर्षको दुई पटक धानखेती हुने गरेको छ । यस्तै झण्डै ३५ हजार हेक्टरमा गहुँ खेती हुने गरेको छ । प्रतिहेक्टरमा धान खेती गर्न ५० किलो र गहुँ खेती गर्न १२० किलो बीउ आवश्यक पर्ने गर्दछ ।
सरकारी स्वामित्वको बीउबिजन कम्पनीले उन्नत बीउको उत्पादन र बिक्री गर्दै आएकामा पछिल्ला वर्षमा निजी क्षेत्रका एक दर्जनभन्दा बढी बीउबिजन कम्पनी, सहकारी संस्था र कृषक समूहले समेत उन्नत बीउ उत्पादन गर्दै आएका छन् ।
कतिपय बीउ कम्पनीले सरकारबाट अनुमति लिएर धान र मकैमा हाइब्रिड उत्पादनसमेत शुरु गरेका छन् । यी दुई मुख्य खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व बढाउन नयाँ जातको बीउको विकास भएको मात्र नभई खेती गर्न नयाँ–नयाँ प्रविधिसमेत भित्रिन थालेको छ ।
कृषि क्षेत्रको विकासका लागि छुट्टाछुट्टै रूपमा कार्यान्वयनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मुख्यमन्त्री एकीकृत कृषि विकास कार्यक्रमअन्तर्गत कृषकहरूलाई प्राविधिकलगायतमा विभिन्न सहयोग उपलब्ध भइरहेको छ । यी दुवै कार्यक्रममार्फत उन्नत बीउ उत्पादन तथा बजारीकरण, सिँचाई तथा कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिइएको कृषि ज्ञानकेन्द्रका प्रमुख शर्माले बताए।
प्रदेशको भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्रालयको पहलमा कञ्चनपुरको पुनर्वास क्षेत्रमा वर्षौँदेखि बाँझो अवस्थामा रहेको राष्ट्रिय आवास कम्पनीको ७४ बिघा जग्गा भाडामा लिई धान र गहुँको उन्नत बीउ उत्पादन कार्यक्रम भइरहेको छ ।
धनगढी उपमहानगरपालिकाका किसान ललित रानाले घरमै राखिएको स्थानीय जातको बीउको प्रयोग गर्दाको तुलनामा उन्नत बीउको प्रयोगले धान र गहुँबालीको उत्पादन सोचे अनुसारको भइरहेको अनुभव सुनाउँछन् । उन्नत बीउको प्रयोगले उत्पादन बढेको भए पनि भरपर्दो सिँचाइको सुविधाको अभाव र रासायनिक मल समयमै उपलब्ध नहुने समस्याले हैरानी खेप्नुपरेको उनको भनाइ छ ।
बीउ उत्पादक कम्पनी सिड कम्पनी धनगढीका अध्यक्ष लक्ष्मीकान्त ढकालले बीउको गुणस्तरका दृष्टिमा कैलालीमा उत्पादन हुने गहुँको बीउ देशैभरि उत्कृष्ट रहेको बताए । “यहाँ उत्पादन हुने गहुँको बीउ पूर्वी तराईका जिल्ला हुँदै भारतको बिहारसम्म जाने गरेको छ”, उनले भने, “बीउमा आत्मनिर्भर भए पनि कृषिको उत्पादन र बजारीकरणको सवालमा सरकारी नीतिको प्रभावकारी कार्यान्वयनमा समस्या देखिँदा खाद्यान्न आपूर्तिको पर्याप्ततामा पनि समस्या देखिन थालेको छ ।”
उन्नत बीउको प्रयोग बढेसँगै रैथाने जातका बालीको खेती भने विस्तारै हराउन थालेको छ । कैलाली, कञ्चनपुरलगायतका जिल्लाको ठूलो क्षेत्रफलको जग्गामा विगतमा गरिने स्थानीय जातको कालो धान, आइरेट, गुर्रा, राईमनुवा, सौँटेरी जस्ता धानको बीउ हराइसकेको किसानको भनाइ छ ।
स्थानीय जातको बीउ प्रयोग गर्दा हुने उत्पादकत्वको तुलनामा उन्नत जातको बीउ प्रयोगले २० देखि २५ प्रतिशतले उत्पादकत्व वृद्धि हुने गरेको कृषि प्राविधकको भनाइ छ । नेपालमा उन्नत बीउको प्रतिस्थापन दर बढेर झण्डै १८ देखि २० प्रतिशत पुगेको जनाइएको छ ।
‘सिड भिजन २०२५’ सम्म उन्नत बीउको प्रतिस्थापन दर तरकारीको शतप्रतिशत, मकैको ३३ र अन्य बालीको २५ प्रतिशत पुर्याउने लक्ष्य लिइएको बताइएको छ । बालीहरुको उत्पादकत्व वृद्धि भइरहेको भए पनि नेपालमा बर्सेनि ठूलो परिमाणमा खाद्यान्न विदेशबाट आयात भइरहेको तथ्याङ्क छ ।
FACEBOOK COMMENTS