धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी पुष्करराज ओझा विजयी भएका छन् ।
नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । आइतबार दिउँसो सकिएको मतगणनाअनुसार रुपेश स्वाँरलाई ६१ मतले पराजीत गर्दै ओझा विजयी भएका हुन् ।
कुल एक हजार नौ सय ४० मत खसेकोमा ९५० मतसहित अध्यक्षमा ओझा विजयी हुँदा स्वाँरले ८८९ मत पाएका छन् । ओझा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा थिए । स्वाँर र ओझाले प्यानलसहित उम्मेदवारी दिएकोमा महासचिवमा पनि ओझा समूहकै दिनेश लम्साल विजयी भएका छन् ।
सुरेश पाण्डेयलाई पराजित गर्दै उनी विजयी भएका हुन् । लम्सालले ९१२ मत पाएका छन् भने पाण्डेयले ८३४ मत मात्रै पाए । वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उपाध्यक्ष (उद्योग) मा लक्ष्मणराज पन्त, उपाध्यक्ष (एसोसिएट) मा मनोज अग्रवाल, उपाध्यक्ष (वाणिज्य) मा गगन केसी, उपाध्यक्ष (वस्तुगत) मा भीमराज ओझा, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाश चन्द विजयी भएका छन् ।
सदस्यहरूमा शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, ध्रुबराज दाहाल, तर्क राज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक विजयी भएका छन् ।
कुल दुई हजार तीन सय ३५ व्यवसायी मतदाता रहेको कैलाली उद्योग वाणिज्य संघको चुनावमा एक हजार नौ सय ४० मत खसेको थियो ।
FACEBOOK COMMENTS