काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध उजुरी पर्ने स्वाभाविक भए पनि पक्राउको प्रकृति अस्वाभाविक रहेको बताएको छ ।
संघका महासचिव अनिलकुमार अग्रवालले आज शुक्रबार विज्ञप्ति जारी गरी नागरिकता प्रकरणमा प्रतिष्ठित सञ्चार उद्यमी सिरोहियालाई प्रहरीले अकस्मात गिरफ्तार गर्नु अत्यन्तै अस्वाभाविक भएको बताएको हो ।
‘कोहीविरुद्ध उजुरी पर्नु स्वाभाविक हो, गैरकानुनी काम गरेको प्रमाणित भएको खण्डमा जोसुकै होस्, कानूनले तोकेको सजाय भोग्नै पर्छ । तर, उद्यमी व्यवसायीको हकमा पक्राउ गर्नुअघि त्यसबाट कस्तो सन्देश प्रवाह हुन्छ भन्ने कुरामा पनि राज्यले ध्यान पुर्याउनुपर्ने हुन्छ,’ विज्ञप्तिमा भनिएको छ । भागेर कतै जाने सम्भावना नरहेको र प्रमाण नष्ट हुन सक्ने अवस्थामा नभएका व्यवसायीलाई उजुरीकै भरमा पक्राउ गर्नुभन्दा अग्रिम जमानत लिएर अनुसन्धान प्रक्रिया अघि बढाउँदा शोभनीय हुने संघको धारणा छ । यसो गर्दा उद्यमी व्यवसायी र लगानीकर्तालाई उच्च मनोबलका साथ काम गर्ने वातावरण प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।
उजुरी पर्नेबित्तिकै पक्राउ गर्नुको सट्टा परिस्थितिको सूक्ष्म मूल्याङ्कन गर्नुपर्ने, पक्राउ नगरीकनै आरोपितका कुरा सुन्नुपर्ने र गहिरो अनुसन्धानपछि पक्राउ नगरी नहुने अवस्था आए मात्र यस्तो कदम चाल्नुपर्ने संघको माग छ । ‘थुनेपछि मात्रै सुन्ने चलनले अदालती सुनुवाइबाट व्यक्ति निर्दोष सावित हुँदा पनि समाजमा कलंकित हुनुपर्ने अवस्था छ । अर्थतन्त्र शिथिलताको अवस्थाबाट गुज्रिरहेको बेला उद्यमी, व्यवसायीलाई पक्राउ र उसको मानमर्दन गर्दा व्यवसाय र लगानीको वातावरण अझै बिग्रनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
देशका सबै तहका व्यवसायीले सरकारबाट प्रोत्साहन खोजिरहेको बेला पक्राउ होइन अभिभावकत्व प्रदान गर्नुपर्नेमा जोड दिँदै संघले सिरोहियालाई हिरासतबाहिर राखेर लागेको आरोपको अनुसन्धान गर्न र भविष्यमा पनि यस किसिमको गिरफ्तारी नदोहोर्याउन संघले सरकारसँग माग गरेको छ ।
कैलाश सिरोहिया प्रकरणमा नाडाले भन्यो– व्यक्तिगत मुद्दा भए कारबाही गर्नुपर्छ, तर…
FACEBOOK COMMENTS