काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ ।
आज मंगलबारको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा बागमती प्रदेश सभा सांसद गीता बस्नेतसँगै उपप्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताएका हुन् ।
सरकारले सांसद बस्नेतलाई यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । उनले ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
सहमहामन्त्री पाण्डेले उपप्रधानमन्त्री लामिछानेले देशका विभिन्न ठाउँका सहकारीबाट एवम् अर्बभन्दा बढी रकम गोर्खा मिडियाको नाममा लिएर अपचलन गरेको दोहोर्याउँदै उनको नाम किटान गरेर संसदीय छानविन समिति नबनेसम्म आफूहरुले संसद बैठक चल्न नदिने अडान पनि राखेका छन् ।
यस्तै,सहमहामन्त्री पाण्डेले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाबिरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै कानुनको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्ने भए पनि आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भएको खण्डमा नेपाली काँग्रेसले नसहने बताए ।
कान्तिपुरका कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
नेपालको प्रतिष्ठित मिडिया ग्रुप कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता कीर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।
उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ । सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियो ।
सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।
FACEBOOK COMMENTS