काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका १५ रोपनी जग्गा एउटा निजी व्यापारिक कम्पनीलाई ३० वर्षसम्म भोगचलन गर्न दिने तयारीसम्बन्धी थप प्रमाण फेला परेका छन् ।
इमु प्रोपटिज प्रालिले प्रतिष्ठान प्रमुखका नाममा दिएको निवेदन नै यसको बलियो प्रमाण हो । प्रालिकी प्रबन्ध सञ्चालक शर्मिला तामाङका तर्फबाट गत जेठ १४ गते प्रतिष्ठानलाई बुझाइएको निवेदनमा बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्ने प्रयोजनका लागि जग्गा उपलब्ध गराउन अनुरोध गरिएको छ ।
प्रतिष्ठानमा उक्त पत्र प्राप्त भएदेखि यसका सदस्यसचिव कुश्मा महरालगायतले निरन्तर कुलपति निशा शर्मा पोखरेललाई जग्गा इमु प्रोपटिज प्रालिलाई उपलब्ध गराउन दबाब दिँदै आएका छन् ।
त्यतिमात्र होइन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले समेत यतिका जग्गा प्राइम लोकेसनमा रहेको भन्दै व्यावसायिक प्रयोजनमा लगाउनुपर्ने धारणा प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमकै बेला स्वयं कुलपति शर्मालगायतका अगाडि राखेका थिए ।
यहाँसम्म कि कुलपति शर्मा पोखरेलले आफूलाई १० प्रतिशत कमिसन दिने प्रलोभनमा उक्त जग्गा निजी कम्पनीलाई दिन दबाब दिइएको जानकारीसमेत मन्त्री किरातीलाई गराएकी थिइन् । नागरिकमा यससम्बन्धी समाचार प्रकाशित भएपछि खण्डन गर्ने होडबाजी मन्त्री राईदेखि प्रतिष्ठान पदाधिकारीसम्ममा चलेको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS